२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, १५ माघ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अनमी र अहेबको परीक्षामा आर्थिक चलखेल भएको विद्यार्थीले आरोप लगाएका छन् । करार सेवामा स्थानीय सेवाको चौथो तह सरहको अनमी र अहेबको परीक्षा दिएका विद्यार्थीले गाउँपालिकाको परीक्षामा पैसाको चलखेल भएको आरोप लगाएका हुन् ।

गाउँपालिकाले २०७६ साल फागुन १५ गते सूचना प्रकाशित गरी अनमि, अहेब र प्राविधिकतर्फ विज्ञापन खुलाएको थियो । तर, चैत ११ गतेबाट कोरोना भाइरसका कारण देशभरि लकडाउन जारी भएपछि परीक्षा पहिलो पटक स्थगित भएको थियो ।

त्यसपछि पुनः कात्तिकमा दोस्रो पटक स्थगित भएको परीक्षा यही माघ ३ गते सम्पन्न भएको थियो । बेला–बेला स्थगित भएको परीक्षा पनि निष्पक्ष नभएको परीक्षामा सहभागी विद्यार्थीको आरोप छ । सो परीक्षामा २८ जनाको सहभागिता थियो । जसको नतिजा पनि तीन दिनपछि आएको थियो । त्यसपछि मौखिक परीक्षा हुँदै तीन विद्यार्थी उत्तीर्ण भएका थिए । स्रोतका अनुसार तीनै जनाले नियुक्ति पनि पाइसकेका छन् ।

‘परीक्षाको विषयमा म पूर्ण रुपमा असन्तुष्ट छु’, परीक्षामा सहभागी विद्यार्थीमध्ये दिनेश मेहताले भने, ‘यहाँ शंका गर्नुपर्ने धेरै ठाउँ छन् । पहिलो त परीक्षा धेरैपटक स्थगित भयो । त्यसमाथि नतिजाका लागि पनि ढिलाइ भयो । मलाई लाग्छ त्यहाँ पैसाको चलखेल भएको छ ।’ उनले प्रश्नपत्र पनि लोकसेवाको ढाँचामा नभएको आरोप लगाए ।

‘हुनतः सबैलाई एउटै प्रश्न हो । तर, प्रश्नपत्र लोकसेवाअन्तर्गतको ढाँचामा थिएन । प्रश्नपत्र पनि पुरानै हुनुपर्छ, मेरो विचारमा छ । अहिले धेरै कुरा परिवर्तन भएर आएको छ । लिखित परीक्षामा पास भएकाहरू अनुपस्थित हुनुले पनि शंका उब्जाएको छ,’ उनले थपे ।

पाँचौं तहको सेवा गर्दै चौथो तहमा जाँच

अघिल्लो वर्ष फागुनमा नै फारम खुलेका कारण देवानगञ्ज ६ कि कल्पना मेहताले फारम भरिन् । स्टाफ नर्स पढेकी उनले त्यसबाहेक अस्थायी कोभिड अस्पतालमा पाँचौं तह सरहको सेवाका लागि पनि फारम भरेकी थिइन् । देवानगञ्ज गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा नाम निकालेकी उनले त्यहाँ सेवा गरिरहेकी थिइन् ।

तर, माघ ३ गते उनले चौथो तहको अनमिका लागि पनि परीक्षा दिइन् । पहिलो नम्बरमा नाम निकाल्न सफल उनी अन्तर्वार्तामा भने सामेल भइनन् । पहिले नै सरकारी सेवा गरिरहेकी उनलाई अनमिमा जागिर खान पाँचौं तहबाट राजीनामा दिनुपर्ने बताउँदै अन्तर्वार्ता सामेल नगराइएको कल्पनाका बुवा शिवशंकर मेहता बताउँछन् ।

‘छारीले एकैपटक दुवै सेवाका लागि फारम भरेकी थिइन् । बेला–बेला स्थगित भएपछि छोरीको जागिर अनमिमा नभइ कोभिड अस्पतालमा पक्का भयो । उता जागिर भएपनि छोरीलाई यसबारे पर्याप्त जानकारी थिएन र जाँच दिन गइन् । नाम निस्केपनि त्यहाँ उनलाई अन्वर्तार्तामा सामेल नगराउने कुरा आयो यसैले उनी गइनन्,’ कल्पनाका बुबाले भने ।

कल्पनाकी बहिनी मनीषाकुमारी मेहताले पनि लिखितमा नाम निकालेकी थिइन् । तर, उनी मौखिकमा असफल भइन् ।

गाउँपालिका अध्यक्ष भन्छन्– जाँच निष्पक्ष भएको छ

यता, देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता परीक्षा निष्पक्ष भएको बताउँछन् । जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रतिनिधीबीच परीक्षा गरेका कारण परीक्षामा कुनै आर्थिक चलखेल नभएको उनको भनाइ छ ।

‘जाँच शतप्रतिशत फेयर छ’, मेहताले भने, ‘यसमा शंका गर्ने कुनै ठाउँ छैन । प्रशासनको प्रतिनिधीबीच हामीले परीक्षा गराएका थियौं । जहाँसम्म कल्पनाको विषयमा कुरा आउँछ । र ऐनले दिने–नदिने कुरामा म त्यति जानकार भइनँ ।

माघ ३ गतेको लिखित परीक्षामा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेको प्रतिनिधित्व थियो । उनले पनि परीक्षा मात्र आफ्नो सुपरीवेक्षणमा भए पनि कापी काट्ने र रिजल्ट निकाल्ने विषयमा आफू जानकार नभएको बताए ।

‘परीक्षामा हाम्रो प्रतिनिधित्व थियो । तर, कापी काट्ने र रिजल्ट निकाल्ने कुरामा हामी जानकार छैनौं । हामीले दुई जना विज्ञको उपस्थितमा प्रश्नपत्र तयार पारेका थियौं । प्रश्नपत्र पनि लोकसेवाको ढाँचाअनरुप नै थियो,’ उनले भने ।

सुनसरी जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने आफू काठमाडौं जानुपर्ने भएकाले परीक्षाका लागि प्रतिनिधि पठाएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!