२०८० चैत्र ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ वैशाख । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का बालकृष्ण मेहता (७५) नयाँ घरदेखि पश्चिमतर्फ रहेको आफ्नो पुर्ख्यौली घरमा आँखा लगाइरहन्छन् । विशेषगरी बिहानको खानापछि उनी पुरानै घरनेर रहेको एउटा सानो घरबाहिरको कुर्सीमा बसेर पुर्ख्यौली घर र युवावस्थाको उमेर सम्झिँदै आनन्द लिन्छन् ।

पुरानो घर लगभग भत्किसकेको अवस्थामा छ । वरिपरि रुखहरूले घरेरिएको छ । त्यो घरमा उनको बाल्यकाल र युवावस्थाको उमेरका तिता–मिठा पलहरूको सम्झना छ । त्यी सम्झनाहरू बुढेसकालका सहारा बनेका छन् । हुनतः उनका सहारा पत्नि फुलुदेवी मेहताका साथै छोरा–छोरी अनि नाति–नातिना पनि छन् । त्यै पनि उनलाई आफ्नो विगत प्यारा लाग्छन्, सुन्दर लाग्छन् अनि त्यही विगतले कहिलेकाहीँ उनलाई मनमा काउकुत्ती लाग्नेगरी सताउँछन् पनि ।

२००३ साल साउन २४ गते जन्मिएका बालकृष्णको विगत मिठा मात्र छैनन् । कुनै–कुनै घटना काँडाजस्तै बिझाउँछन् पनि । सानै छँदा उनलाई आफ्नो बुबा वंशी मेहताजस्तै बन्न मन थियो । वंशी मेहता देवानगञ्जमा मात्र होइन सुनसरी वा त्यसभन्दा पनि बाहिर राजनीतिक विषयमा चर्चित थिए । नेपाली काङ्ग्रेसका एक प्रभावशाली व्यक्ति थिए । त्यतिखेर म पार्टीमा आस्था राख्न पाइन्थ्यो तर पार्टीप्रतिको सक्रियता देखाउन पाइँदैनथियो । पार्टीका बैठकलगायतका भेला सीमापारि भारतमा हुन्थ्यो । त्यै पनि वंशीको छबीका कारण ठूला–ठूला काङ्ग्रेसका नेताहरू उनलाई भेट्न देवानगञ्जस्थित उनको घरसम्म आइपुग्थे ।

विपी कोइराला परिवारका साथै गणेशमान सिंहलगायतका व्यक्तिहरू आफ्नो बुबालाई भेट्न घरैसम्म आएको देख्दा बालकष्णलाई पनि आफू बुबाजस्तै प्रभावशाली व्यक्ति बन्ने मनसाय जाग्थ्यो । तर बुबासँग यस्ता प्रकारका कुरा गर्न बालकृष्णलाई मुख लाग्दैनथ्यो । किनकि त्यस समय बुबासँग शीर ठड्याएर बोल्न हिम्मत बालकृष्णलाई मात्र होइन, प्रायः कोही पनि छोरा-छोरीलाई हुँदैनथ्यो ।

बुबा वंशीलाई भने छोरा बालकृष्णलाई शिक्षक बनाएर गरिबका छोरा–छोरीलाई शिक्षा–दिक्षा देओस् भन्ने इच्छा थियो । ‘मेरा बुबा मलाई शिक्षक बनाउन चाहनुहुन्थ्यो, यसैले त मलाई उहाँले पढाउनका लागि देवानगञ्ज र विराटनगर गर्नुभयो । आफूले चिनेजानेका नेता भएठाउँ पुग्नुभयो,’ बालकृष्ण सम्झन्छन् ।

No description available.

बालकृष्णका बुबा बितेको आठ वर्ष भयो । बुवा वंशीकै प्रेरणामा उनले आफ्नो जीवन अध्यापनमा धकेलेका थिए । उनले २०२४ सालको वैशाख महिनाबाट शिक्षण पेशा थालेका थिए । आफूले अध्ययन गरेको विद्यालय कृष्ण माध्यमिक विद्यालय (तत्कालीन कृष्णप्रसाद प्रावि) मै अध्यापन गराउन पाउँदा हर्षित् थिए उनी । उमेरले सानै भए पनि उनमा शालीनता थियो, हक्की र निडर स्वभावका थिए । युवास्थादेखि नै उनी नेपाली टोपीमा सजिन्थे । प्रायःगरी पाइजामा र कुर्ता लगाउँथे । चिटिक्क परेर हिँड्थे ।

२१ वर्षको उमेरमै शिक्षक बनेका बालकृष्ण केही समयपछि नै सहायक प्राध्यापक बन्न सफल भएका थिए । उनको अध्यापन जीवन पनि उकाली–ओराली र रोचक लाग्दो बन्यो । उनले जीवनको एक कालमा तीन महिना हालसम्म पनि नदेखेकाे बम राखेको आरोपमा पक्राउ पनि परेका थिए ।

यसरी सम्झिन्छन् बालकृष्ण आफ्नो बाल्यकाल (उनकै शब्दमा)

म हालको कृष्ण माविमा पढ्दा त्यसबेला विद्यालयको नाम कृष्णप्रसाद प्रावि थियो । अनि विवाद आएपछि स्कुलको नाम  फेरिएको हो । पञ्चायती व्यवस्था भएका कारण नाम फेर्न भनेर तत्कालीन वीरेन्द्र शाह सरकारले चिठ्ठी पठाइरहन्थ्यो । ‘प्रसाद’ हटाएपछि पनि चिठ्ठी आयो । तर ‘कृष्ण प्रावि’ भगवानका नाममा राखेको भनेर स्पष्टीकरण दिएपछि चिठ्ठी आउनछोड्यो ।

कृष्ण प्राविमा पाँचसम्म पढाइ हुन्थ्यो । तर, खासै विद्यार्थी हुन्थेनन् । स्कुल पढ्ने सबै केटाहरू मात्र थिए । केटीको सङ्ख्या भने थिएन । त्यहाँबाट पाँच कक्षा पास गरेपछि ममा पढ्ने रहर उत्तिकै थियो । तर बुबासमक्ष यो कुरा राख्न सक्दिँन थिएँ । सामान्य लेखपढ गरेको भए पनि बुबा राजनीतिक व्यक्तित्वको सङ्गतका कारण उच्च छबी राख्न सफल भइसक्नु भएको थियो । उहाँ आफैँ पनि राजनीतितिर सक्रिय नै हुनुहुन्थ्यो । त्यो बेलाका सुरक्षाकर्मीको त्रासका बीच आफ्नो राजनीतिक सक्रियतालाई खुलाउन सकिँदैनथ्याे अनि बुबा पनि खुलाउन चाहनुहुन्नथ्यो ।

एक दिन बुबा आफैँले गिरिजाप्रसाद कोइरालालाई भेट्न भन्दै विराटनगर जानुभयो । विराटनगर जाँदा पैदल नै जानुपर्थ्यो । साधन केही थिएन । कमै व्यक्तिले मात्र साइकल चलाउँथे, जोकोहीसँग हुँदैनथ्यो पनि । विराटनगर गएर बुबाले गिरिजाबाबुसामु मलाई थप अध्ययन गराउने प्रस्ताव राख्नु भएछ । गिरिजाबाबुले पनि आफू नै अभिभावक बनेर विराटनगरको आदर्श माविमा भर्ना गरिदिनु भएछ । त्यसपछि मेरो थप अध्ययन सुरु भएको थियो । त्यसबेला गाउँका अरू मानिस विराटनगर गएर पढेका थिएनन् । मै मात्र थिएँ, थप अध्ययनका लागि विराटनगर गएको ।

त्यतिबेलाका मेरा सहपाठी थिए, प्रकाश कोइराला । विपी कोइरालाका छोरा तथा गिरिजाबाबुका भतिजा । खुबै मिल्ने हामी दुई । प्रकाश कक्षाका प्रथम विद्यार्थी थिए । बुबा र काका राजनीतिक रूपमा धेरै सक्रिय रहेका कारण पनि उनी त्यसका बारेमा धेरै बुझ्थे । म पढ्ने कुरामा मात्र फोकस गर्थेँ । उनीसँगसँगै मैले  त्यहाँबाट मैले एसएलसी पास गरेँ ।

त्यसपछि मेरो पढाइयात्रा मोरङ कलेजतर्फ लम्बियो । अहिलेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा छात्र नै धेरै हुन्थे । छात्राको सङ्ख्या कम थियो । मोरङ क्याम्पसबाट नै मैले आइए पास गरेको हुँ । अहिले पनि म सम्झन्छु सिंगो गाउँभरिमा मै एक्लो थिएँ आइए पास गरेको ।

आइए पास गरेपछि पनि ममा पढ्ने रहर मेटिएको थिएन । मैले पढ्ने जमर्कोलाई अझ लम्ब्याउने मनसाय बनाएको थिएँ । मैले विवाह गरेपनि पढ्न छोडिनँ । २०१७ सालतिर मैले सप्तरीकी फुलोदेवी मेहतासँग लगनगाँठो कसेको थिएँ । तर पाँच वर्ष उनी माइतमै बसिन् र पाँच वर्षपछि मात्र हाम्रो मिलन भयो ।

बिहे गरे पनि अध्ययन गरिरहेकाे मैले आइए सकेपछि पनि पढ्ने मनसाय बनाएकाे थिएँ । तर समस्या एउटै थियोः मैले बुबालाई यसबारे बताउन सकेको थिइँन । बुबाले भने छोरोले अब शिक्षण पेशा गरोस्, घर–परिवार हेरोस् भन्ने चाहनुभएको रहेछ । यसबारे उहाँ आफैँले मलाई सुनाउनुभयो ।

 

हामी चार जना दाजुभाइ हौँ । सबैभन्दा जेठो भएका कारण पनि म जागिर गर्न बाध्य थिएँ । मैले जिम्मेवारी बहन गर्न थाल्ने बेला पनि भइसकेको थियो । बुबा दिनदिनै बूढो हुनेक्रममा हुनुहुन्थ्यो । यसैले पनि बुबाले मलाई जागिर नै खान सुझाउनुभएको हो जस्तो लाग्यो ।

अब पढ्ने मनसाय थाती राख्दै म शिक्षण पेशामा होमिएँ । त्यतिबेला लोकसेवा थिएन । पढेका मानिसले जागिर खान कठिन थिएन । त्यै पनि बुबाले भनिदिनु भएका कारण सहजै सरकारी शिक्षक बनेँ । २०२४ साल वैशाख १५ गते म आफूले पढेको विद्यालयमा शिक्षक बनेर कक्षाकोठा प्रवेश गरेको थिएँ । म हर्षित् थिएँ । पढाउन सक्ने खुबी भएका कारण पनि मलाई अध्यापन गराउन असहज भएन ।

विस्तारै जागिर खाँदैगर्दा मेरो पदोन्नति भयो । म सहायक प्रधानाध्यापक भएँ र केही समयपछि नै प्रधानाध्यापक बनेँ । प्रअ बनेपछि मेरो तलब एक सय ५५ रुपैयाँ थियो । २५ रुपैयाँ प्रअ भत्ता आउँथ्यो । राम्रो तलब अनि परिवारसँगकाे सुखसयलसँग जीवन बितिरहेको थियो ।

देख्दै नदेखेको बम राखेको आरोपमा पक्राउ

२०३० तिरको कुरा हो । शिक्षण पेशा थालेको छ वर्षजति बितिसकेको थियो । सो समय बालकृष्ण राजनीतिभन्दा ढाटा थिए । किनकि एउटा शिक्षक निष्पक्ष र स्वतन्त्र हुनुपर्ने नैतिकता पनि थियो । अनि त्यो समय राजनीति गरेको हल्ला मात्र भयो भने पक्राउ परेर जेलमा बस्नुपर्ने अवस्था थियो । यसैले त पहिलेको राजनीति गोप्य रूपमा अनि भेला, बैठक सीमा पारि हुन्थ्यो ।

०३० मा हरिनगर प्रहरी थाना नजिकैबाट प्रहरीले बम बरामद गरेको थियो । बम फेला परेपछि यो हल्ला चारैतिर फैलियो । त्यसपछि बम राखेको आरोपमा कृष्ण प्राविका प्रअ बालकृष्णसहित राजनीतिमा सक्रिय रहेका अन्य १७ जनालाई प्रहरीले हत्कडी लगायो । बालकृष्णलाई अचम्म लाग्यो । किनकि बम राखेको आरोपमा पक्राउ परेका उनले बमका बारेमा जानेका थिएनन्, अझ उनले आफ्नो जिन्दगीमै बम देखेका थिएनन् । उनी भन्छन्, ‘बमका बारेमा जान्नु त के मैले बम देखेकाे पनि थिइँन । मलाई सम्झिँदा पनि अचम्म लाग्छ, जुन अपराधमा म पक्राउ परेँ । त्यो कुरा मैले देखेकाे पनि छैन । अहिलेसम्म मैले बम देखेकाे छैन ।’

अनि राजनीतिमा सक्रिय नहुँदा पनि पक्राउ गरेपछि उनी अचम्मित थिए । पक्राउ परेका सबैमाथि बमकाण्डबाहेक भारतबाट ‘तरुण पत्रिका’ ओसारपसार गरेको आरोप पनि थियो । त्यतिबेला पक्राउ पर्नेमा बालकृष्णका साथै राम–लक्ष्मण पनि थिए, दुवै जनाको अनुहार एकार्कासँग मिल्थ्यो । अनि नोना कोइरालाका श्रीमान केशवप्रसाद कोइरालालगायत पनि पक्राउ परेका थिए । यस्तै, बमकाण्डका मुख्य अभियुक्त सुकदेव मेहता पनि पक्राउ परेका थिए । सुकदेव मेहतालाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर जनमत सङ्ग्रह भएपछि उनी चार वर्षमा जेलबाट छुटे ।

देख्दै नदेखेको बम राखेको आरोपमा पक्राउ परेका बालकृष्णले विराटनगर जेलमा तीन महिना बिताएका थिए । नामकै कारण उनी जेल परेका थिए । हरिनगराका प्रकाश मेहताले पार्टीमा केही परेमा बालकृष्णलाई पनि समेट्नु भनेका कारण अरू साथीहरूले मेरो नाम खुलाएका रहेछन् ।

‘प्रहरी आएर मलाई मेरै घरबाट समात्दा म मात्र होइन मेरा परिवार सबै अचम्मित भएका थिए । तर त्यतिबेला साथीहरूले मलाई पार्टीको काममा समेट्नु भनेर भनेपछि म पक्राउ परेको हुँ । त्यसबेला मैले पहिलोपल्ट तथा अन्तिम पटक जेलजीवन बिताएको थिएँ । हुनतः अझै मेरो जीवन अझै केही वर्ष रहनेछ,’ उनले हाँस्दै भने ।

पछि बालकृष्णलाई राजकाज अपराध लगाएर ७० दिने म्याद राखेर हाजिरी गराइएको थियो । जेलमा बस्दा उनी उपन्यास र पत्रपत्रिका पढ्थे । त्यतिबेला उनले विपी कोइरालाले लेखेको ‘दोषी चस्मा’, गुल्सन नन्दको ‘कटि पतङ्ग’जस्ता साहित्यिक कृषिहरू पढेका थिए । किनकि, उनी पढ्नमा साैखिन थिए । जेमा उनलाई काङ्ग्रेसी नेताहरूका विषयमा केही खोल्छ कि भनेर सोधिन्थ्यो पनि ।

एकपटक उनलाई गिरिजाबाबुलाई चिन्छाै भनेर सोधिएको थियो । उनलाई गिरिजाबाबुका बारेमा थाहा नहुने कुरै भएन  । तर उनले भनिदिएछन्,- ‘मचाहिँ उहाँलाई मज्जाले चिन्छु । तर उहाँले मलाई चिन्नुहुन्नँ ।’ हुनतः गिरिजाबाबुले पनि उनलाई नचिन्ने कुरै भएन । उनकै घरमा धेरैपटक बस्दा हालचाल सोध्ने गर्थे गिरजाबाबुले ।

पछि जेलबाट छुटेर हाजिरी गर्नुपर्दा पनि उनले आफूले अध्यापन गराउँदै गरेको कृष्ण प्राविमा पढाए । ‘तारिख धाउँदा पनि मैले स्कुल पढाउन छोडिनँ । इनरुवास्थित तत्कालीन जिल्ला शिक्षा अधिकारी सत्यजंग राणा अधिकारीले सिडिओ कार्यालयबाट लेखाएर ल्याउनुस् म तलब दिन्छु भनेका थिए । तर म हेडमास्टर थिएँ । आफूले काम नगरेको तलब खानु उचित लागेन र तीन महिना तलब थापिनँ,’ उनी सम्झन्छन् ।

त्यसपछि भने उनले शिक्षण पेशालाई निरन्तरता दिइरहे । त्यैपनि पार्टीको सहानुभूतिका लागि पार्टीमा पनि थिए । तर गोप्य रूपमा । पछि पार्टीका बारेमा बोल्न पाउने व्यवस्था आएपछि उनी पनि पार्टीप्रति खुलेरै लाग्थे होलान् । तर उनी शिक्षक थिए । शिक्षण पेशाको मर्यादाले उनलाई दिएन । फेरि उनको बाध्यता पनि थियो शिक्षण पेशा । रहर त उनलाई अझै पढ्ने र अगाडि बढ्ने थियो । बीचैमा अध्यापन छोडेर पढ्न जान सक्दैन थिए बालकृष्ण । पारिवारिक समस्या उस्तै थियो ।

पछि छ छोरी र एक छोराको पिता बनेपछि त बालकृष्णमा अझ जिम्मेवारी थपियो । किनकि, त्यसबेला पैसा दिएर बिहा गराइदिनु पर्थ्यो । विनादाइजो बिहे हुँदैनथ्यो । त्यसपछि त उनको जागिर नै महत्त्वपूर्ण कुरा थियो ।

पुर्ख्यौली घरको कथा बेग्लै

बालकृष्णले सधैँ नियालिरहने घरको बेग्लै कथा छ । बालकृष्णको पुर्ख्यौली घर त्यही घर हो, जहाँ काङ्ग्रेसका तत्कालीन नेताहरूको जमघट हुन्थ्यो । प्रायःगरी धेरै आवत–जावत भने गिरिजाबाबुको रहन्थ्यो । त्यसबाहेक कोइराला परिवारका धेरै जनाको ओहोरदोहोर हुन्थ्यो । विपीका परिवार नै आउँथे । महिलामा नोना कोइराला, सुजाता कोइरालालगायत आउँथे । गणेशमान सिंह पनि कहिलेकाहीँ झुल्किन्थे । सामान्य लेखपढ भए पनि बालकृष्णका बुबाले त्यति धेरै ख्याती कमाएका थिए ।

No description available.

बुबाकै छबीका कारण पनि बालकृष्ण आफ्ना बुबाप्रति गर्व गर्थे र बाबुजस्तै ठूला मान्छे बन्नेबारे सोच्थे । एकपटक त उनका बुबा वंशी पनि जेल परेका थिए । उनलाई जहाँसम्म याद छ आफ्नो घरलाई काङ्ग्रेसको अखडा बनाएको भन्दै राजकाजको ऐन लगाएर प्रहरीले बुबालाई जेलमा कोचेको थियो । तीन वर्षसम्म बुबा जेल बसेको सम्झिँदै उनले भने, ‘बुबाको छबीप्रति आकर्षित थिएँ । एक पटक उहाँ जेल पर्नु भएको याद छ । हाम्रो घरमा थुप्रै नेताहरू आउने–जाने गर्थे । यसकारण पनि हामीमाथि प्रहरीको दमन थियो ।’

असुरक्षाका कारण पुर्ख्यौली घर छोड्नपर्यो

बालकृष्णले पुर्ख्यौली घर छोडेर नयाँ घरमा सरेको करिब २४ वर्ष भयो । २०५२/५३ को कुरा हो । त्यतिबेला चोरी र डकैती धेरै नै हुन्थ्यो । अगाडिदेखि नै डकैती हुँदैआए पनि त्यो सयम उत्कर्षमा पुगेको थियो । सीमा क्षेत्र नजिक भएका कारण सीमापारिबाट आउने डाँकाहरूको समूहले दिँउसै पनि डर देखाएर गाईबस्तु खोलेर लैजान्थे । हतियारसहित आएका उनीहरूले धनमाल जे छ सबै पोको पार्थे र पारि लैजान्थ । बस्ती पातलो थियो । प्रहरी थाना पनि टाढा भएका कारण असुरक्षित नै थियो बालकृष्णको घर ।

सडक पारि एक्लो घर भएका कारण पनि उनको घर असुरक्षित थियो । साँझ परेपछि डाकाहरू आउँथे । काकाहरू छुट्टिसकेका कारण घरमा पारिवारिक सदस्य पनि घटेको अवस्था थियो । डकैती धेरै हुन थालेपछि बालकृष्ण सडक पारिपट्टि सरे । सोही समय देवानगञ्जमा थाना बस्यो । यसैले पनि नयाँ घरमा बालकृष्णले असुरक्षित महसुस गर्नुपरेन ।

बालकृष्णकै बाटोमा उनका छोरा पनि

उनले आफ्ना बुबालाई हेरेर जुन सपना देखेका थिए । सो सपना लगभग पूरा भइसकेकाे छ । किनकि, उनका बुबालाई भेट्नका लागि जुन तहका व्यक्तिहरू घरैमा पुग्थे त्यसरी नै उनलाई भेट्न अहिले विभिन्न तह-तप्काका मानिसहरू आउँछन् । उनीबाट धेरै कुरा सिक्छन् । त्यो प्रक्रियाले निरन्तरता पाइरहेको बालकृष्ण बताउँछन् ।

तथापि, उनी उमेरले बूढा भइसकेका छन् । अहिले उनी उमेरले ७५ पुगे । अब उनमा पहिलेजस्तो जोश रहेन । काम गर्न सक्दैनन् । शिक्षण पेशाबाट अवकास लिइसकेका छन् । छोरा, बुहारी नातिनातिना छन् । उनले परिवारलाई दुई बिघा दस कठ्ठा जग्गा जिम्मा लगाइदिएका छन् । त्यसैको उब्जनी र बालकृष्णको पेन्सनले परिवारको जीविको पार्जन भइरहेको छ । मासिक २० हजार बालकृष्णले पेन्सन बुझ्छन् ।

त्यसबाहेक बालकृष्णका छोरा पनि कृष्ण माविमा पढाउँछन् । उनका छोरा पनि बालकृष्णकै बाटोमा छन् । फरक यति छ, बालकृष्णले कृष्ण प्राविमा पढाए उनका छोराले कृष्ण माविमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!