खोटाङ,२७ माघ: खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं. ६ मा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ। एकै दिन ६० जनाभन्दा बढी व्यक्तिमा झाडापखाला, बान्ता र ज्वरोका लक्षण देखिएका छन्।
प्रारम्भिक जानकारीअनुसार २०८२ साल माघ २१ गते आयोजित सामूहिक भोजपछि बिरामी देखिन थालेका हुन्। उक्त भोजमा करिब २५० जनाको सहभागिता रहेको थियाे।
पहिलो बिरामी माघ २२ गते दिउँसो १ बजे जिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका थिए। त्यसपछि क्रमशः बिरामीको संख्या बढ्दै गएको हो। माघ २३ गतेसम्म करिब १०० जनामा यस्तै लक्षण देखिएपछि स्वास्थ्यकर्मीहरू घर–घरमा पुगेर उपचार गर्न खटिएका थिए।
माघ २५ गतेसम्म ४९ जनालाई स्वास्थ्य क्याम्प मार्फत उपचार गरिएको छ। थप १७ जना बिरामीलाई जिसापानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अधिकांश बिरामीको अवस्था सामान्य हुँदै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
यसैबीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू प्रभावित क्षेत्रमा पुग्नुभएको छ। उहाँले बिरामी र उनीहरूका आफन्तसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। मन्त्री लिम्बूले आवश्यक औषधि र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।

घटनापछि पालिका, जिल्ला र प्रदेशस्तरीय र्यापिड रेस्पोन्स टोली परिचालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङबाट आवश्यक औषधि र सामग्री पठाइएको छ।
नमूना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षणका लागि पठाइएको छ। परीक्षणको नतिजा आएपछि प्रकोपको कारण पुष्टि हुने जनाइएको छ।




