२०८३ श्रावण ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,४ साउन:प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पूँजी बजारमार्फत उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गरे।

उनले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर अनियमितता तथा गलत कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। नेपालको पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन सरकार, नियामक निकाय तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

“राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्छ, तर अनियमितता र गलत कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइनेछ,” प्रधानमन्त्री शाहले भने।

छलफलका क्रममा पूँजी बजारका सरोकारवालाहरूले कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले लगानीमैत्री वातावरण सुदृढ बनाउन आवश्यक कानुनी तथा संरचनागत सुधारमा जोड दिएका थिए।

नियमनकारी निकायका प्रतिनिधिहरूले प्राप्त सुझावलाई कार्यान्वयनयोग्य बनाउँदै पूँजी बजार सुधारका लागि आवश्यक नीति, कानुन तथा प्रणालीगत सुधारलाई चरणबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!