२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, १२ असार । स्याउ विशेषगरी हिमाली वा उच्च पहाडी क्षेत्रमा फल्छ । चिसो क्षेत्रमा फल्ने स्याउ तराई क्षेत्रमा फलेपछि किसान आफैँ अचम्मित भएका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ का वासुदेव मेहताले आँगनमै लटरम्म स्याउ फलेपछि चिन्तित भएका हुन् ।

वासुदेवले तीन वर्षअगाडि विश्वास नलागी–नलागी एक बोट स्याउको बिरुवा किनेका थिए । २०७४ सालतिर उनले सुनसरीको तरहरास्थित एक नर्सरीबाट बेच्न आएकी एक युवतीसँग पाँच सय रुपैयाँ हालेर स्याउको बिरुवा किनेका थिए । त्यतिबेला उनले तराईमा पनि स्याउ फल्छ भन्ने कुरामा विश्वास गरेका थिएनन् । बोट पनि हुँर्किदैन जस्तो उनलाई महसुस भएको थियो । यसैले त उनले डराइडराई एउटामात्र स्याउको बिरुवा किने । त्यही पनि बिक्री गर्न आएकी युवतीलाई बाचा–कसम खुवाए । ‘मलाई त विश्वास नै थिएन कि तराईमा पनि पनि स्याउ हुन्छ भन्ने’, उनले भने, ‘मैले बूढो मान्छेलाई नठग्नु है भनेर भन्दा उहाँले धरोधर्म ढाँट्दिन भन्दै स्याउको बोट दिनुभएको थियो । त्यतिबेला पाँच सयले त मेरो खेतमा लगाउन मल नै आउँथ्यो ।’

मल किन्न राखेको पैसाले स्याउको बिरुवा किनेका उनले आँगनमा रोपे । पानी हाले, गोडमेल गरे । कहिलेकाहीँ औषधि पनि छर्किए । दुई वर्षजतिमा बोट अग्लो भयो । कतै–कतै फूल फुलेको जस्तो देखियो । केही फल लागे तर अडिएनन् । जम्मा दस वटाजति अडिएका थिए । त्यै पनि घरमा चाख्दै र गाउँतिर बाँड्दै ठिक्क भयो ।

तर तेस्रो वर्षमा भने उनी अचम्मित भए । बोटभरि फल लागे । फल अलि ठूला हुँदा लटरम्मै स्याउका दाना देखिन्थे । पछि आधाजति झरे । वासुदेवको मनमा अब पुनः फल अडिँदैनन् जस्तो लाग्यो । पाँच सय रुपैयाँ र तीन वर्षसम्मको मेहनत खेर गयो भन्ने लाग्यो । निराशिँदै उनले कृषि विज्ञसँग राय लिन थाले ।

कृषिविज्ञले केही किटनाशक औषधि सुझाएपछि भने उनी सन्तुष्ट छन् । केही दिन औषधि प्रयोग गरेपछि स्याउ बोटमा अडिएका छन् । त्यतिमात्र नभएर स्याउ पाक्न थालेका छन् । तराई भेगको आँगनमा स्याउ देख्न पाउँदा भने उनी अझै अचम्मित छन् ।

‘भाग्यमानी नै मान्नुपर्ला । तराईमा बसेर पनि आँगनमा स्याउ देख्न पाइएको छ’, उत्साहित हुँदै उनले भने, ‘घरि–घरि त हिमालमै जन्मिएछ कि जस्तो लाग्छ । ती नानीलाई धन्यवाद छ । अब भने तराइकै स्याउ भनेर गर्वका साथ बजारमा बेच्छु ।’

विस्तार गरेर सभा एक बिगाहमा लगाउने योजना

वासुदेवको सभा एक बिगाह जग्गा छ । त्यसमा उनले अहिले उखु, तरकारी, खोर्सानी, लिची र अङ्गुर पनि खेती गरिरहेका छन् । अब उनले प्रायः सबै कुरा मासेर सभा एक बिगाहमा स्याउ खेती गर्ने योजनामा छन् । यसै वर्षदेखि पाँच कठ्ठामा स्याउको बोट लगाउने मनसाय बनाएका वासुदेव भन्छन्, ‘पहिले पाँच कठ्ठामा लगाउँछु । राम्रै भएमा अबको चार वर्षभित्रमा सभा एक बिगाहमै स्याउ लगाउँछु । मलाई लाग्छ, मेहनत गरेमा पक्कै पनि तराईमा स्याउ फल्छ ।’

स्याउ खेती विस्तार गर्नका लागि भने उनले तालिम लिने योजना बनाएका छन् । यसका लागि कृषि ज्ञानकेन्द्र तरहरासँग समन्वय गर्ने योजना रहेको बताउँदै उनले तालिमपछि भने स्याउ मनग्ये फलाएर आम्दानी गर्ने योजनामा छन् । उनी भन्छन्, ‘केही फरक गर्नुपर्छ । तरकारी खेती गाउँभरि सबैले गर्दैआएका छन् । मुख्य बालीनाली परम्परादेखि नै लगाउँदै आएका हौँ । अब तालिम लिएर स्याउ खेती गर्छु । पैसा नहोला तर पहिचान बेग्लै बन्नेछ ।’

बिरुवा उत्पादन एउटै बोटबाट

अहिले उनले लगाएको स्याउको बाटे करिब दस फुटजति अग्लो छ । चारैतिर हाँगा फैलिएको छ । त्यहीँ हाँगाबाट करिब पाँचसम्म बिरुवा निस्किन्छ । कलमी गरेर वार्षिक एक सयका दरले पाँच वर्षमा पाँच सय बिरुवा उत्पादन हुने उनी बताउँछन् । अब, उनले तालिमबाटै बिरुवा उत्पादने बारे जान्ने निधो गरेका छन् । तथापि उनले यस बोटबाट भने बिरुवा उत्पादन नगर्ने बताए । ‘यसबाट बिरुवा उत्पादन गर्दा फल्ने शक्ति घट्छ भन्ने सुनेकाे छु यसैले अब तरहरा गएर बिरुवा किन्छु र लगाउँछु ।

हिमालमा स्याउ तयार नहुँदै तराई र पहाडमा स्याउ उत्पादन गर्न सके बजारसमेत राम्रो हुने उनले बताएका छन् । स्याउ खेतीलाई आधुनिक तरिकाले बगैँचा प्रणालीलाई स्तर उन्नती गरी प्रयोगमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ ।

कृषि विज्ञ भन्छन्– तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम हुनसक्छ

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ का प्रवक्ता डाक्टर राजेन्द्र उप्रेती तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम हुन सक्ने बताउँछन् । हिमाली तथा उच्च पहाडी भेगमा फलेको स्याउजस्तो टेस्ट र कलर हुन नसकेको खण्डमा बजारीकरणमा जोखिम हुने उप्रेतीको भनाइ छ ।

स्याउ विशेषगरी पाँच डिग्री सेल्सियस तापक्रममा फल्ने बताउँदै उनले तराईमा पनि फल्न सक्ने तर फाइनल प्रोडक्ट भनेअनुसार आउन सक्ने सम्भावना कम रहेकाे उनले बताए । टेस्ट र कलरमा फरक हुनसक्ने बताउँदै उनले साेही कारण बजारीकरणमा समस्या हुनसक्ने बताए ।

सोलुखुम्बु र ताप्लेजुङमा पनि फलेको स्याउको कर्णालीको स्याउसँग तुलना हुन नसक्ने बताउँदै उनले भने, ‘सोलु र ताप्लेजुङतिरको स्याउ टेस्ट र कलरकै कारण अम्बाको भाउमा बिक्री हुन्छ । यसैले व्यावसायिक खेती गर्दा तालिम र अध्ययनको आवश्यकता हुन्छ । यतातिर आधारभूत मात्र तालिम हुन्छ, काठमाडौँ वा मुस्ताङतिर भने राम्रै तालिम हुन्छ । तालिममा पठाउन सहजीकरण गर्न मन्त्रालय तयार छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!