२०८२ भाद्र २९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ भदौ : नेपाली कांग्रेस कोशी प्रदेशले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा. आरजु राणामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ ।

प्रदेश कार्य समितिका अध्यक्ष उद्धव थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनको वास्तविक भावना र घोषणा बाहिर गएर नियतवश घटना सृजना गरिएको ठहर गरेका छन् । उनका अनुसार जनआन्दोलनलाई लोकतान्त्रिक बाटोमा अघि बढाउनु पर्नेमा हिंसा, अराजकता र व्यक्तिविशेषमाथि आक्रमण हुनु निन्दनीय र अस्वीकार्य छ ।

विज्ञप्तिमा आन्दोलनका क्रममा ऐतिहासिक धरोहर, संघ, प्रदेश र स्थानीय तहका कार्यालय, न्यायपालिका र व्यवस्थापिका, साथै नेपाली कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला तथा क्षेत्रीय कार्यालयमा गरिएको तोडफोड र आगजनी घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । कांग्रेस कोशी प्रदेशले यस्ता घटनाले आन्दोलनको सारलाई कमजोर बनाउने बताउँदै दोषीलाई छानबिन गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

“नेपालको समृद्धि र उज्ज्वल भविष्यका लागि लोकतान्त्रिक गणतन्त्रकै विकल्प लोकतान्त्रिक गणतन्त्र हो,” विज्ञप्तिमा उल्लेख छ । त्यसैले मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँड्न चाहने सबैलाई संवैधानिक दायराभित्र समाधान खोज्न अपिल गरिएको छ ।

साथै, कांग्रेसले हालको संकटपूर्ण परिस्थितिमा संविधानको रक्षकका रूपमा उभिनुभएका राष्ट्रपति प्रति सम्मान प्रकट गर्दै सबै पक्षलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न जोड दिएको छ । “संविधानलाई संरक्षण गर्दै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन सबै दल र पक्षबीच सहकार्य आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!