विराटनगर,१९ माघ: नयाँ नेतृत्व र नयाँ अनुहारको खोजीमा रहेको नेपाली राजनीतिमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला विशेष चर्चामा छ। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गुरु्राज घिमिरेको उपस्थितिले राजनीतिक वातावरण तातेको छ। समग्र युवाको आकांक्षा र प्रतिनिधित्व गर्ने अनुहारका रूपमा उनी अहिले शिखरको चर्चामा छन्।
पार्टीभित्र प्रखर वक्ता तथा युवामैत्री नेताका रूपमा परिचित घिमिरे विशेषगरी जेन–जी आन्दोलनको मर्म बुझ्ने र त्यसलाई कांग्रेसको मूलधारमा समेट्ने प्रयासका कारण युवामाझ लोकप्रिय छन्। गत पुस २७ र २८ गते सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएपछि उनको राजनीतिक हैसियत थप मजबुत बनेको छ।
कुनै समय कांग्रेसको किल्ला मानिने मोरङ–४ राज्य पुनर्संरचना पछिका आम निर्वाचनमा गठबन्धन राजनीतिका कारण पार्टीले अपेक्षित सफलता हासिल गर्न सकेको थिएन। एउटै अनुहारलाई निरन्तर दोहोर्याउँदा दुई कार्यकालसम्म कांग्रेसले आफ्नो वर्चस्व जोगाउन असफल भएको स्थानीय कार्यकर्ताहरूको बुझाइ छ। यस्तो अवस्थामा युवा नेतृत्व र पार्टी महामन्त्रीकै उम्मेदवारीले कार्यकर्तामा नयाँ उत्साह थपेको छ।
पुराना मतदातालाई सुरक्षित गर्दै नयाँ अनुहार पार्टीभित्र भित्र्याउने अभियान तीव्र पारिएको कांग्रेसले जनाएको छ। विभिन्न समिति तथा उपसमिति गठन गरी युवा परिचालनदेखि महिलाको नेतृत्वमा रणनीति निर्माणसम्म आक्रामक चुनावी शैलीमा छलफल भइरहेको घिमिरेले विराटनगर महानगरपालिका वडा नम्बर ८ का क्रियाशील सदस्यहरूसँगको अन्तरक्रियामा बताएका थिए।
महामन्त्री घिमिरेको उम्मेदवारीले पार्टीभित्र देखिएको उत्साह र सुधारको संकेत यसपटकको निर्वाचनमा परिणाममा रूपान्तरण हुनेमा कांग्रेसजन विश्वस्त देखिन्छन्।




