२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १२ पुस । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको चाकुले यतिबेला सबैलाई लोभ्याउने गरेको छ ।

देशभित्र मात्र होइन, टोखाको मौलिक उत्पादन चाकुले देश बाहिरसमेत मौलिक पहिचान दिँदै छ । पोषिलो चाकुलगायतका मिठाइ बनाएर अन्नसँग साट्ने परम्परादेखि नै त्यस स्थानमा चाकु बनाउने चलन पुर्खाले चलाएको स्थानीय ७५ वर्षीय चाकु व्यवसायी काशीलाल श्रेष्ठ बताउँछन् ।

टोखाको पहिचान चाकुको परिकार बनाउने उनको पुर्लीख्याैली व्यवसाय पुस्तान्तरण हुँदै पाँचाैं पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा उत्तिकै फराकिलो भएको छ । टोखावासीले लामो समयदेखि चाकुको व्यवसायलाई निरन्तरता दिएका छन् । यहाँको मौलिक परिकार चाकुले शरीरलाई भित्रैदेखि न्यानो राख्न मद्दत पुर्याउँछ । चाकुले परिकारको महìव दिन प्रतिदिन बढेको चाकु व्यवसायीको भनाइ छ । जाडो मौसममा शरीरलाई तापको आवश्यकता पर्छ ।

हिटर, एसी, आगो, बाक्लो कपडाको माध्यमबाट शरीरलाई बाहिरी रूपमा तताउन सम्भव छ तर शरीरलाई भित्रैदेखि तातो राख्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन परम्परागत चाकुलगायतका परिकारको प्रयोग हुँदै आएको छ । विशेषगरी माघे सङ्क्रान्तिको दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीको हरेक घरमा छ । हाल चाकुको विभिन्न परिकार अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुन्छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड पनि

टोखाका स्थानीयले पहिले चाकु बनाएर पातमै पोको पारेर बेच्थे । स्थानीय काशीलाल श्रेष्ठका अनुसार त्यसबेला चाकु अहिलेजस्तो विदेशसम्म पठाउने चलन थिएन । टोखादेखि नजिक नुवाकोट, साँखु, भक्तपुर, असन बजार, कमलाछीतिर बेचिन्थ्यो । नजिकका बजारमा जाँदा खर्पनमा र अलि टाढा जाँदा डोकोमा समेत बोकेर जान्थ्यौँ, प्लास्टिकको चलन त करिब ३५ वर्ष जत्ति मात्र भएको उनको भनाइ छ ।

टोखाका चाकु उत्पादकहरू त्यहाँको मौलिक प्रसिद्ध परिकार चाकुको गुणस्तरमा एकरूपता ल्याउन र यस व्यवसायलाई फैलाउन टोखा परम्परागत चाकु संरक्षण समाजमार्फत सङ्गठित भएका छन् । समितिले चाकुलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन समितिले चाकु निर्यातका लागि अङ्ग्रेजीमा टोखा ट्रेडिसनल चाकु कन्जर्भेसन सोसाइटी नाम ब्रान्ड निर्धारण गरेकोे समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, डेनमार्क, क्यानडालगायत नेपाली पुगेका सबै मुलुकमा चाकु र त्यससँग सम्बन्धित परिकार निर्यात हुने श्रेष्ठले जानकारी दिए । चाकुका परिकार लामो समयसम्म राखेर खान सकिने, पोषिलो, बालबालिका, सुत्केरीदेखि ज्येष्ठ नागरिकले समेत खान मिल्ने भएकाले यसको माग बढेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!