
चितवनको खैरहनी नगरपालिका–१३ का गीतानाथ आर्याल १५ कठ्ठामा लगाएको धानमा पसाउने बेलामा अनेक किरा र रोग देखिएपछि आजित छन् ।
अघिल्ला बर्षहरुमा नदेखिएका रोग र किरा यसपटक देखिएको छ । १० कठ्ठामा सावित्री र ५ कठ्ठामा बहुगुणी धान लगाएका अर्यालले रोपेदेखि अहिलेसम्म दुईपटक विषादी छरिसके । तर, सोचेजस्तो गरी रोग र किरा नियन्त्रणमा आएन । धानमा पात मर्ने, जरा कुहिने, गवारो र फड्के किराका समस्या देखिएका छन् ।
गाईबस्तुको मल बढी भएको ठाउँमा रोग, किरा कम र मल कम भएको ठाउँमा बढी देखिएको अनूभूति उनको छ । उनी भन्छन्, ‘मेरोमा तैबिसेक छ, कतिपयको त रोग र किराले खत्तम पारेको छ, दुःख जति त्यसै होला जस्तो छ ।’ पसाउने बेलामा धानमा युरिया मल हाल्न नपाएका किसानलाई रोग र किराको प्रकोपले झन् सताएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले धानमा गत बर्षभन्दा बढी रोग र किरा देखिएको बताए । किसानले झोल र दाना बिषादी छरे पनि रोग नियन्त्रणमा आएको छैन ।
किसानले बिषादी छर्ने नाममा अन्धाधुन्ध रासायनिक विषादीको प्रयोग गरिरहेको तिमिल्सिना बताउँछन् । ‘कतिपय किसानले धानमा रोग र किरा लागेर नै विषादी हाल्नुभएको छ, कतिपयले अरुले हालेको देखेर हाल्नुभएको छ’ उनले भने, ‘किसानले अन्धाधुन्ध विषादीको प्रयोग गरेको पाएका छौं, तरिका सही नहुँदा पनि रोग र किरा नियन्त्रण भएको छैन ।’
उनका अनुसार चितवनको धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के किरा र गवारो मुख्य समस्याका रुपमा देखिएको छ । एउटै धानको गाँजमा दुई हजारसम्म फड्के किरा भेटिएको उनले बताए ।
पूर्वी चितवनको रत्ननगरमा रहेको अर्याल एग्रो सप्लार्यसका सञ्चालक तथा नेपाल विषादी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वर आर्यालले धानमा हाल्ने विषादी किन्न दिनमा ४०÷५० जना किसान आउने गरेको बताए ।
धेरैजसोको समस्या धान मरेको, डढेको, जरा कुँहिएको नै रहेको छ । सकेसम्म त किसानकै फिल्डमा गएर हेर्ने चाहना हाम्रो हुन्छ, तर कतिपय अवस्थामा सकिदैन’, अर्यालले भने, किसानले भनेको समस्या सुनेर नै विषादीको दिने गरेका छौं ।’
अर्यालका अनुसार साउन, भदौ महिनामा विषादीको धेरै बिक्री हुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख तिमिल्सिना किसानले मात्रा नमिलाई विषादी प्रयोग गर्ने गरेको बताउँछन् । किसानले एक सिजनमा धानमा तीनपटकसम्म विषादीको प्रयोग गरेका छन् । किसानले क्लोरोपाइरिफस, साइपर मेपेफ्रिन लगायतका ‘ब्रोड स्पेक्ट्रम किटनाशक बिषादी’ प्रयोग गरिरहेका छन् ।
तिमिल्सिनाले किराकै कारण बाला पसाई सकेपछि ठाउँठाउँमा दूध नभरिएको सेता बाला देखिएको बताए । गवारो जिल्लाभरिकै धान खेतीमा देखिएको उनले बताए । धानमा नै सेतो झिँगा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेलो बनाएर क्षति पुर्याउने तिमिल्सिनाले बताए ।
सावित्री धानमा जरा कुहिने रोग देखिन थालेको छ । सावित्री धानमा रोग प्रतिरोधी क्षमता एकदमै कम भएकाले रोग र किरा बढी देखिने परियोजनाका प्रमुख तिमिल्सिना बताउँछन् ।
जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यस बर्ष लकडाउनका कारणले जिल्लामा तरकारी खेती बिक्री नभएपछि किसानले धेरै जमिनमा धान खेती गरेका छन् ।
चितवनमा चैत र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ । वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । जिल्लामा गत वर्ष १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।