विराटनगर, १० असार । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । बिहीबार सामाजिक विकास मन्त्री उषाकला राईलाई ज्ञापनपत्र बुझाउँदै क्युपेक नेपालले निर्माण क्षेत्रलगायत अनौपचारिक क्षेत्रमा काम गर्ने सबै मजदुरलाई खोप उपलब्ध गराउन माग गरेको हो ।
यस्तै, युनियनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न हुने व्यवस्था गर्न माग गरेको छ । सात वटै प्रदेशमा आज बिहान १० बजे एकै पटक ज्ञापनपत्र बुझाउँदै क्युपेक नेपालले बाढी, पहिरोका कारण पीडित तथा प्रभावित भएका परिवारलाई उचित राहत प्याकेजको घोषणा हुनुपर्ने, जिल्ला दर रेटमा ट्रेड युनियनको प्रतिनिधि अनिवार्य हुनुपर्नेलगायतका ६ बुँदे माग पत्र बुझाएको क्युपेक नेपाल १ नंं प्रदेश प्रमुख तथा केन्द्रिय कमिटी सचिव मुक्तिनाथ गिरीले जानकारी दिए ।
मन्त्री समक्ष गाउँ तथा नगरपालिकामा विकास निर्माणमा काम गर्ने मजदुरको अभिलेख राख्न व्यवस्थाको थालनी गर्न स्थानीय तहलाई निर्देशीत गर्नका लागि पनि ध्यानाकर्षण गराईएको उनले बताए ।
यता, ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री राईले श्रमिकको हकहितको पक्षमा आफुपनि रहेको बताइन् । श्रमिक वर्गको समस्या समाधानका लागि पहल गर्ने पनि उनले प्रतिबद्धता जनाएकी छन् ।




