
धरान : धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा धरानमा कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो।
आयोजकका अनुसार प्रतियोगितामा कोशी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ। टिमहरूले कोशी प्रदेशभित्रका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने छन्। बाह्य जिल्लाबाट आउने खेलाडीहरूका लागि खाना र बस्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
विसं २०५९ देखि विद्यालयस्तरबाटै बास्केटबलको प्रवर्द्धनमा सक्रिय धरान बास्केटबल संघले प्रतियोगितामार्फत खेलाडी उत्पादन, खेलको विकास तथा धरानलाई प्रदेशस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ।
संघले अघिल्ला वर्षहरूमा काठमाडौंमा आयोजना हुने विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगितामा धरानका खेलाडीलाई सहभागी गराउँदै आएको छ। यही क्रममा १३औं दक्षिण एशियाली खेलकुदमा धरानका खेलाडी तथा प्राविधिकहरूले कास्य र रजत पदक जितेका थिए।
ब्रिटिस क्याम्पमार्फत धरानमा प्रवेश गरेको बास्केटबल खेल अहिले व्यवसायिक हुँदै गएको भन्दै आयोजकहरूले प्रतियोगिताले युवामाझ खेलप्रतिको आकर्षण, भाइचाराको भावना र सकारात्मक सोचको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगिताका विजेता टोलीलाई नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट खेलाडी (एभिपी) लाई १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।