 
							सप्तरी, १७ असार । दशकौंपछि गाउँमा विद्युत जडान हुँदा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.–१३ स्थित श्रीलंका टापु (गोबरगाढा)का वासिन्दा खुशी भएका छन् । सप्तरी जिल्लाकै विकट र सुविधाको हिसावले पनि पछाडी परेको स्थानमा वर्षाैंदेखि अँध्यारोमा बस्नुपर्ने समस्याबाट छुटकारा मिलेको स्थानीय लटु यादवले बताए ।
विद्युत प्राधिकरण सप्तरी राजविराजका प्रमुख अमोदकुमारका अनुसार श्रीलंका टापु एलानी जग्गामा बसोवास भएको वस्ती हो । त्यस गाउँमा बसोवास गर्नेले पशुपालन, गाई, भैंसी, बाख्रालगायतको व्यवसाय गरी जीविकोपार्जन गर्दै आइरहेका छन् । त्यस गाउँमा विद्यालय, स्वास्थ्य चौकी छ तर विद्युत थिएन । नेपाल विद्युत प्राधिकरणले दिएको सुविधाअनुसार प्रसारण लाईन विस्तार गरी सेवा प्रवाह गरेको उनले बताए । गतवर्षदेखि नै टापुमा विधुतको सेवा विस्तार गर्ने योजना अनुरुप काम भइरहेको थियो तर कोरोना संक्रमणका कारण यतिका समय लागेको बताए ।
प्रमुख यादवले शाखाका कर्मचारीका साथ र सहयोगले हामीले दुर्गम भेगमा सेवा विस्तार गर्न सफल भएको बताउदै वर्षौदेखिको समस्या समाधान भएको छ । विधुतका कारण त्यहाँका किसानले पशुपालन,कृषि लगायतको क्षेत्रमा गरेको लगानीको प्रतिफल सहज रुपमा पाउने विश्वास व्यक्त गरेका छन् ।
शाखा प्रमुख यादवले टापुमा राष्ट्रिय प्रसारण प्रणालीअन्तर्गतको विद्युत सेवा जडान भएको छ । २ करोड ५० लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी दुर्गम गाउँमा विद्युत सेवा संचालन गरिएको केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार ८०-८५ घरधुरीमा विद्युत सेवा पुर्याइएको बताए ।
हनुमाननगर कंकालनी नगरपालिकादेखि ६ किलोमिटर ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको छ । गाउँमा ५० केभीएको ट्रान्सफर्मर राखेर विद्युत सेवा प्रवाह गरिएको छ ।
गाउँमा विद्युतीकरण गर्न ११ केभी हाइ टेन्सन लाइनको ११८ वटा पोल जडान गरिएको छ । लो टेन्सन लाइनको ५० वटा पोल राखिएको छ ।
संरचना निर्माणको काम थालेको दुई वर्षमा गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएको वितरण केन्द्रले जनाएको छ । राष्ट्रिय प्रसारण प्रणाली विस्तार भई गाउँमा उज्यालो पुगेपछि स्थानीय हर्सित बनेका छन् । गाउँमा विद्युत पुगेपछि बत्ती बाल्न, मोबाईल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन र कुटानी पिसानी गर्ने मिल सञ्चालन गर्न सहज भएको स्थानीय बताउँछन् ।
श्रीलंका टापुमा विद्युत पुगेपछि सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भएको पनि यादवले बताउनु भयो । वितरण केन्द्रअन्र्तगत विद्युत प्राधिकरणको विद्युत सेवा लिने करिब ५५ हजार ग्राहक छन् ।


 
										 
												 
												 
												 
												 
												 
												
 
											 
											
