
दमक, १६ कात्तिक । झापामा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ । आइतबार बिहान थप तीन जनाको मृत्यु भएसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनकाे संख्या ४३ पुगेकाे हो ।
आज मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एक जना पुरुष रहेका छन् ।
दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ ।
शनिबार मात्रै उपचारका लागि नोबेल पुर्याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ ।
मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उहाँ होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनको घरैमा उपचाररत थसिए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताउनुभयो ।
शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो ।