२०८२ माघ ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ४ फागुन: प्रतिनिधि सभाको यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका सबै ६ वटै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार अघि सार्ने तयारी गरेको छ। पार्टी सभापति गगन थापाको नेतृत्वपछि कांग्रेसले ‘नेतृत्व परिवर्तन र पुस्तान्तरण’लाई प्राथमिकता दिँदै पुराना अनुहार विस्थापित गर्ने नीति लिएको कांग्रेस निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार हाल उम्मेदवार छनोटसम्बन्धी आन्तरिक छलफल र बहस अन्तिम चरणमा पुगेको छ । सम्भवत् भोली बेलुका सम्म उम्मेदवार छनोटको प्रक्रिया टुंगिनेछ। विशेष महाधिवेशनमा अनुपस्थित रहेका तथा परिवर्तनलाई अस्वीकार गर्ने नेताहरू यसपटक उम्मेदवार बन्ने सम्भावना न्यून देखिएको छ।
सभापति थापाले एकल नाम सिफारिस भएकालाई यथावत राख्ने र ३ देखि ५ जनासम्म सिफारिस भएका क्षेत्रमा नयाँ अनुहारलाई प्राथमिकता दिने नीति अघि सारेपछि मोरङका धेरै स्थापित नेताहरू चुनावी दौडबाट बाहिरिने लगभग निश्चित भएको स्रोतको दाबी छ।
मोरङ–१ बाट महाधिवेशन प्रतिनिधि तथा नेतृत्व परिवर्तनमा सक्रिय भूमिका खेलेका उर्लाबारी निवासी खड्ग फागो प्रतिनिधि सभाका उम्मेदवार बन्ने तयारीमा छन्। उनी सभापति थापाको प्यानलबाट कांग्रेस कोशी प्रदेश सभापतिका सम्भावित उम्मेदवारसमेत मानिन्छन्। लामो समयदेखि यही क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका पार्टी सभापति डिगबहादुर लिम्बू यसपटक अवसर नपाउने सम्भावना बलियो छ। विशेष महाधिवेशनमा सहभागी नभएको र देउवा पक्षलाई खुलेर सहयोग गरेको आरोप उनीमाथि लागेको छ।
मोरङ–२ बाट पहिलो नम्बरमा सिफारिस भएका डा. मीनेन्द्र रिजाल पनि यसपटक उम्मेदवार नबन्ने लगभग निश्चित छ। विशेष महाधिवेशनका बेला प्रतिनिधिहरूलाई सहभागि नहुन निर्देशन दिएको आरोप उनीमाथि छ। स्रोतका अनुसार केन्द्रीय सदस्यमा निर्वाचित शिवनारायण सिंह गंगाई उम्मेदवार बन्ने सम्भावना छ, यद्यपि उनले इच्छा नदेखाएपछि रविन राईलाई अघि सार्ने विकल्पसमेत छलफलमा छ।
मोरङ–३ मा एकल सिफारिस भएका डा. सुनिल शर्मालाई उम्मेदवार बनाउने तयारी लगभग पक्का छ। तर केही नेताहरूले उनको ‘ढुलमुले’ राजनीतिक धारणा भन्दै सभापति थापालाई पुनर्विचार गर्न दबाब दिएको स्रोत बताउँछ।
मोरङ–४ बाट पार्टी महामन्त्री गुरुराज घिमिरेले उम्मेदवारीको इच्छा व्यक्त गरेका छन्। अघिल्लो निर्वाचनमा प्रदेशसभा ‘क’ बाट पराजित भएका घिमिरेको उम्मेदवारीबारे अन्तिम निर्णय लिनुअघि सभापति थापाले महेश आचार्यसँग परामर्श गर्ने बताइएको छ। आचार्यले उम्मेदवारी नदिए घिमिरेले टिकट पाउने सम्भावना बलियो छ।
मोरङ–५ मा फुलकुमार लालवानीलाई उम्मेदवार बनाउने तयारी छ। अमृत अर्याल निकट मानिने लालवानीले विशेष महाधिवेशनमा सक्रिय भूमिका खेलेका थिए। यद्यपि यही क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस भएका पूर्व आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी विशेष महाधिवेशन बहिस्कार गरेका कारण कमजोर स्थितिमा छन्।
कांग्रेस नेता डा. शेखर कोइरालाको परम्परागत निर्वाचन क्षेत्र मोरङ–६ सबैभन्दा बढी चर्चामा छ। एकल नाम सिफारिस भएकाले सभापति थापाले एक पटक कोइरालालाई चुनाव लड्न अनुरोध गर्ने स्रोतले जनाएको छ। यदि कोइरालाले अस्वीकार गरे डा. डिला संग्रौलालाई उम्मेदवार बनाउने तयारी छ। साथै, कोइराला खेमाबाट विशेष महाधिवेशनलाई समर्थन गरेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई अघि सार्ने प्रयास पनि भइरहेको छ।
स्रोतका अनुसार डा. कोइरालाको राजनीतिक प्रभाव कमजोर बन्दै गएको र जितको आधार नदेखिएको आकलनका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिर रहने सम्भावना बढ्दो छ।
कुल मिलाएर, मोरङमा कांग्रेसले यसपटक पुरानो विरासतभन्दा परिवर्तनको सन्देश दिने गरी उम्मेदवार छनोट गर्ने रणनीति अपनाएको देखिन्छ, जसले जिल्लाको राजनीतिक समीकरणलाई नयाँ मोड दिन सक्ने संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!