
कञ्चनपुर, २० चैत: जिल्लाको शुक्लाफाँटा नगरपालिकाले जग्गाको वर्गीकरण गरेको छ । नगरपालिकाले भू(उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेको हो ।
यसअघि जिल्लाकै भीमदत्त नगरपालिकाले जग्गाको वर्गीकरण गरेको थियो । यससँगै शुक्लाफाँटा नगरपालिका जमिन वर्गीकरणमा दोस्रो नम्बरमा परेको छ ।नगरले भू(उपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ ।
नगर प्रमुख रणबहादुर महरा र प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले संयुक्त रूपमा भू(उपयोग क्षेत्रको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरेका छन् ।
नगर प्रमुख महराले नगरपालिकाभित्रको जग्गा संरक्षण गर्न र खण्डीकरण हुन नदिन जग्गालाई आवासीय र कृषि क्षेत्रलगायत दशवटा क्षेत्रमा वर्गीकरण गरिएको बताए । उनका अनुसार कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र र आवश्यकताअनुसार अन्य क्षेत्र गरी १० क्षेत्रमा वर्गीकरण गरिएको छ । आवासीय प्रयोजनका लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भू उपयोग नियमावलीमा व्यवस्था छ ।
जग्गा वर्गीकरण गरेसँगै लामो समयदेखि बन्द रहेको कित्ताकाट अब खुला भएको छ । सरकारले भू(उपयोग नियमावली बनाएसँगै सबै पालिकामा जग्गाको वर्गीकरण गर्ने काम भइरहेको नापी कार्यालय कञ्चनपुरका प्रमुख पालले बताए । कसैले भू(उपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिकामा निवेदन दिनुपर्ने छ ।