
बागलुङ, २३ कात्तिक । तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।
भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए ।
उहाँले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५-२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए । तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बताए ।
उाका अनुसार दुवाली छेकेर माछा मार्न धेरै जना चाहिन्छ । त्यसरी मारिएको माछाको सबैले बराबरी भाग पाउँछन् । “तमानखोलाको असला माछा स्वादिष्ट मानिन्छ, यहाँका प्रायः सबै होटलमा माछाको परिकार हुन्छ”, पुनले भने ।
धेरैजसो होटल, रेष्टुराँ व्यवसायीले नै माछा खरिद गर्छन् । माछाको सुकुटी बनाएर महङ्गोमा बेच्ने पनि हुन्छन् । बोङ्गादोभान बजारमा मात्र माछा बेचेर जीविका चलाउने २० जनाभन्दा बढी छन् ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला माछाका लागि समेत चिनिने गरेको बताए ।
चिसो र स्वच्छ पानीमा हुर्केको भएकाले माछा स्वादिष्ट हुने गरेको उनको भनाइ छ । असला माछा लोप हुने देखेर गाउँपालिकाले पछिल्लो समय माछा मार्न कडाइसमेत गर्न थालेको छ । अवैधरूपमा विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न रोक लगाइएको छ ।
वडा नं ४ को लाम्मेला हुँदै, तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको पुछारसम्मै माछा मारिन्छ । गाउँपालिकाको बोङ्गाखोला र खुङ्खानी खोलामा पनि माछा मार्नेहरु भेटिन्छन् । जिल्लाको बडिगाड, निसी, भूजी, दरम, ठेउले, तारा, काठेलगायतका खोलामा असला माछा पाइन्छ । दरमखोलाको असला त कोसेलीका रूपमा विदेशसम्म पुग्छ ।
सुकुटी पारिएको असला माछा प्रतिकिलो रु सात हजारसम्म पर्छ । आलो माछा रु ८०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको गलकोट नगरपालिका–७ मल्मका व्यवसायी बाबुराम केसीले बताउनुभयो । उहाँका अनुसार गलकोट नगरपालिका–७, ८ र ९ मा मात्र दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । पछिल्लो समय व्यावसायिकरूपमा माछा पाल्ने क्रम पनि बढ्दो छ । गलकोट र ताराखोलामा ‘रेम्बो ट्राउट फार्म’ समेत छन् ।