
विराटनगरस्थित बिभिन्न संघ संस्थाले छठ पर्व मनाउन माग गरेका छन् । विराटनगर महानगरलगायत मोरङ जिल्लाभरि कोरोना संक्रमण दैनिक बढिरहेको अबस्थामा स्थानीय प्रशासनले नदी, तलाउमा भिडभाड गरेर छठ पर्व मनाउनमा रोक लगाएपछि उनीहरुले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।
झरना चोक छठ पूजा समारोह समिति विराटनगरका सचिव अमृतकुमार साहले स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर नदी, तलाउमै गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन दिन स्थानीय प्रशासनसँग माग गरे । ‘छठ पर्व मूल समारोह समितिले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारीलाई सिंघीया नदीमा छठ मनाउन अनुमति माग्न जाँदा घर घरमै सुरक्षित तरिकाले पर्व मनाउन आदेश दिनुभयो,’ उनले भने, ‘नदी, तलाउमै गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउने सांस्कृतिक परम्परा बिपरित घरमा मनाउन नसकिने भएकाले यस्तो माग गरेका छौं ।’
पिचरा छठ पूजा समारोह समितिका अक्षय सहनीले गत बिगत बर्ष जस्तो टेण्ट लगाएर घाट सजाउने, सांस्कृतिक कार्यक्रम गर्ने र रातभरि घाटमा जाग्राम नबसी सामान्य तरिकाले नदी तलाउमै छठ पर्व मनाउने व्यवस्था गरिदिन माग गरे ।
हिन्दु परिषद मोरङका अध्यक्ष कैलास मण्डलले नदीमा छठ पर्व मनाउन जाने प्रत्येक व्यक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, एक परिवारको घाटमा अर्को परिवारका सदस्य नगई सुरक्षित तरिकाले पर्व मनाउने प्रतिबद्धता जनाए । ‘विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर यहाँका सिंघीया, केसलीया नदी र पोखरीहरुमा छठ पर्व मनाउने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘पोखरी, नदी, तलाउमै गएर छठ पर्वमा अर्घ दिने भाकल गर्ने परम्परा रहेकाले त्यसमा रोक नलगाउन हाम्रो माग हो ।’ नदी, पोखरी र तलाउमा छठ पर्व मनाउने कार्यमा जबरजस्ती रोक लगाइएमा सांस्कृतिक अतिक्रमण हुने र त्यसको बिरोधमा उत्रिन बाध्य हुने स्थिति निर्माण नगरिदिन छठ पर्व समारोह समितिले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विराटनगर महानगरलगायत जिल्लाभरि कोरोना संक्रमण दैनिक बढिरहेकाले सुरक्षित तरिकाले सामूहिका भेला र भिडभाड नगरी घर घरमै पर्व मनाउन आग्रह गरेको बताए । ‘कुनैपनि पर्व मनाउनमा रोक लगाइएको छैन,’ उनले भने, ‘तर पर्वको नाममा हुने अहिलेको विषम परिस्थितिमा अनावश्यक भिडभाड गरेर संक्रमणको जोखिम बढाउने कार्य नगर्न सबैलाई आग्रह छ ।’