
विराटनगर, ४ मंसिर । सूर्यको उपासना गरेर हिन्दू धर्मावलम्बीले चार दिनसम्म मनाउने बुधबारबाट सुरु भएको छ । विशेष गरेर तराईमा मनाइने छठ पर्वको आज (बिहीबार) दोस्रो दिन हो ।
छठको दोस्रो दिन ब्रतालुहरु खरना मनाउँछन् । दिनभर ब्रत बसेर बेलुका नैवेध चढाई सख्खर हालेर बनाएको खीर, मुला, केरा खानुलाई खरना भनिन्छ । छठमा चार दिनसम्म सूर्यको पूजा आराधना गरिन्छ ।
ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् । छठको दोस्रो दिन ब्रतालुहरु दिनभर ब्रत बसेर साँझ एक छाक खाने गर्छन् । एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो । चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
छठका लागि नदी, तलाउ महत्त्वपूर्ण मानिन्छ । किनकि, यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति मानिन्छन् । तर, यसपटक भने कोरोना महामारीका कारण विराटनगरका घाटहरु सुनसान छन् ।
कोरोना भाइरसको संक्रमण फैलँदो अवस्थामा रहेको अवस्थामा भक्तहरूले आ–आफ्नै घरमा पूजाको तयारी गरिरहेका छन् । महामारी संक्रमणलाई मध्यनजर गरी स्थानीय प्रशासनले नदी तलाउमा भीड नगरिदिन आग्रह गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले छठ पर्व सुरक्षित रूपमा घरमै मनाउन अनुरोध गरेको छ । यसैगरी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पनि नदी, तलाउमा भीड गर्दा संक्रमणको जोखिम कम भएकाले छठ पर्व परिवारमै मनाउन आग्रह गरेका छन् ।
तर, भक्तजनहरु भने यसपटक पनि नहरमा धूमधामले छठ मनाउने कार्यमा जुटेका छन् । विराटनगर-५ नहरअगाडिका भक्तजनहरु अघिल्ला वर्षहरुमा झै सुनसरी–मोरङ सिचाइँ आयोजनाको नहरमा पानी आउने आशमा छठकाे तयारीमा जुटेका छन् । विराटनगर-५ का देवनारायण चाैधरी नहरमा पानी आउने आशमा नहरकाे डिल तास्दैछन् । नहरकाे डिल खनेर छठ पूजा गर्ने तयारी उनकाे छ । ‘आज पानी आउने सुनेकाे छु । यसैले छठको तयारीमा जुटेकाे हुँ । बेलुकासम्म पानी आउने सुनेकाे छु । पानी आएन भने घरकै छठ मनाउँछु,’उनले भने ।
यसैगरी सोही स्थानका अजय राय पनि पानी आउने आशमा छठकाे तयारी गरिरहेका छन् । नहरमा बेलुका पाँच बजेसम्म पानी आउने गाउँमा सुनेकाे बताउँदै उनले पानी नआएकाे खण्डमा मटर लगाएर नहरमा पानी भर्ने बताए । उनले भने, ‘नहरमा पानी आउने खबर सुनेकाे थिएँ । पानी आएन भने घरैबाट मटर चलाएर पानी लगाउँछाैं र छठ पूजा गर्छाैं ।’
आयोजना भन्छ : पानी यहाँबाट छाेडिसक्याैं
सुनसरी–मोरङ सिचाइँ आयोजनाले भने नहरमा तत्काल पानी नछाडिने बताएकाे छ । आयाेजनाका प्रमुख भेलानन्द यादवले बिहीबार बिहानै नहरमा पानी छाेडीसकेकाे बताए । जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा नहरमा पानी छाेडेकाे उनकाे भनाइ छ ।
‘नहरमा पानी नखाेल्दा खोलामा भक्तजनहरुकाे भीड देखिने भएका कारण हामीले नहरमा पानी छाेडेका हाैं,’ उनले भने, ‘विराटनगरकै कुरा गर्दा पनि छठमा सबै सिंघीया खोलामा जम्मा हुने देखिएका कारण नहरमा पानी छाेडेका हाैं । नहर लामाे भएका कारण पानी छाेड्दा मानिसहरु बाँडिन्छन् ।’
यसअघि स्थानीय प्रशासनले सुनसरी–मोरङ सिचाइँ आयोजनालाई पानी नछाड्न आग्रह गरेको थियो । धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताएका थिए ।