
ललितपुर, ५ मंसिर । वाग्मती प्रदेशभित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् । वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालको सहकार्य तथा हलो खबर डट कमको आयोजना बुधबार भएको ‘कौसी क्वीन–२०७७ पुरस्कार वितरण कार्यक्रम’ मा सो खेती गर्ने सात महिला पुरस्कृत भएका हुन् ।
विगत १५ वर्ष अघिदेखि घरमै तरकारी तथा फलफूल उत्पादन गर्दै आइरहेकी स्वयंभू निवासी भगवती श्रेष्ठले रु ५५ हजार ३५० बराबरको सो खेतीका लागि आवश्यक सामग्री पुरस्कारस्वरुप पाइन् ।
यसैगरी विगत सात वर्षदेखि कौसीमा तरकारी उत्पादन गर्दै आएएकी ग्वार्काे वडा नं १ सुगमटोल निवासी कोपिला खनाल पनि रु १६ हजार ८५० बराबरको सो खेतीका लागि आवश्यक सामग्रीबाट पुरस्कृत भइन् ।
पसल गएर दैनिक तरकारी किन्नुभन्दा छतमा उक्लेर तरकारी टिप्नु उचित महसुस गरेर सो उत्पादनलाई वढवा दिँदै आइरहेको कोपिलाले सुनाइन् ।
एकवर्षदेखि सो खेतीलाई बढावा दिँदै आइरहेकी गोठाटार निवासी पवित्रा भण्डारीसमेत रु २५ हजार ३५० बराबरको सो खेतीका लागि चाहिने सामानबाट पुरस्कृत भइन् । आफूले उत्पादन गरेका तरकारी समयमै खाइनसकेर केही दिनअघि छिमेक तथा साथीभाइलाई निःशुल्क तरकारी वितरण गरेको पवित्राले बताइन् ।