
विराटनगर, १५ मंसिर । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा एम्बुलेन्स र लहरी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
सोमबार राति कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किँदा उपचारका लागि सप्तरीबाट विराटनगर ल्याइँदै गरेका बिरामीको मृत्यु भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् ।
मोरङ प्रहरीका अनुसार बिग्रिएर सडकमा रोकिराखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डल रहेका छन् । यसैगरी एम्बुलेन्समा सवार ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् ।
एम्बुलेन्स चालक हरि यादव फरार रहेका छन् ।