
इलाम, २ पुस । नेपाी अलैंचीकाे भाउ बढ्ने सम्भावना देखिएकाे छ । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको हो ।
भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।
पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन् । विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ ।
भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्ने अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले बताए । नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसकेकाे बताउँदै उनले ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको बताए ।
केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन । अहिले त किसानले त्यसको एक चौथाइ भाउमात्र पाउँछन् । फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ ।
नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ ।