
डोटी, ३ पुस । डोटीको बोगटान फुड्सिल गाउँपालिका– ५ धिर्कामाण्डौंमा चार जना युवाले नयाँ ब्यवसाय शुरु गरेका छन् । लकडाउनको बीचमा नै डोटीको धिर्कामाण्डौमा स्थापना भएकाे ‘कालिज बहुउद्देश्यीय कृषि फर्म’ बाट आम्दानी सुरु भएकाे हाे ।
उत्साहित चार युवाले पोखराबाट पाँच सय चल्ला ल्याएर सुरु गरेका थिए । कालिज बहुउद्देश्यीय कृषि फर्मका अध्यक्ष देवबहादुर बोहराका अनुसार प्रति कालिज भाले तीन हजार रुपियाँमा बिक्री भइरहेको छ । अध्यक्ष बोहराले भने, ‘एक किलो भन्दा माथि तौल रहेको भाले कालिज तीन हजारमा बिक्री सुरु गरिएको छ । धेरैजसो कालिज फर्मबाट नै विक्री भइरहेका छन् ।’
करिब २२ लाखकाे लागतमा घर नजिकैको डाँडामा घेरवार गरेर काजिलकोलागि बासस्थान बनाइएको छ । निकट भबिश्यमा ह्याचरी मेसिन राखेर कालिजको चल्ला समेत उत्पादन गर्ने र डोटीकै बजार क्षेत्रको रुपमा रहेको दीपायलमा काजिलको मासु पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भईरहेको बताइएको छ ।
हाल कालिज फर्ममा चार जना कामदारले काम गरिरहेका छन भने एक बर्ष भित्र दश जना पुर्याइने बताइएको छ । कालिज पालनका लागि कुनै पनि निकायबाट अनुदान नलिएको सञ्चालकहरुले बताएका छन् ।
सिजनात्मक कार्यसहित सुरु गरेको ब्यबसायीक कालिज पालनको प्रर्बद्धनका लागी बोगटान फुड्सिल गाउँपालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताएका छन् ।
सुदूरश्चिम प्रदेशमा कैलाली जिल्ला पछि ब्यवसायीक रुपमा कालिज पालनको सुरुवात डोटीमा गरिएको हो । नेपालमा कालीज पालन नयाँ ब्यवसाय भएको पशु सेवा बिज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले बताए ।