२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तनहुँ, ८ पुस । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । उनले भने, “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ । कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।”

मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको बताउने मिश्रले भने, “जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।” वनको मुढेघारबाट मौरी पाल्न शुरु गर्नुभएका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उहाँ बताउनुहुन्छ । अहिले उहाँको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।

करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाएका छन् । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उनी बताउँछछन् । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए । यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ ।

मह र मौरी बिक्री गरेर वार्षिक रु सात-आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उनी बताउँछन् ।

 

उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए । मह बिक्रीका लागि घरघरमा धाउनु पर्दैन । घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढा–टाढादेखि मानिस आउने गर्छन् । कुनै समय त मह सकिएको अवस्थामा मानिसहरु रित्तै हात फर्कनुपरेको उनी बताउँछन् ।

बजारमा डुलाएर बिक्री गर्ने मह अधिकांश नक्कली हुने भएकाले डुलाएर हिँड्नेसँग सजग रहन सबैमा उनले आग्रह गरे । मह बालबालिका, वयस्कदेखि वृद्धवृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकीका लागि मह अचूक औषधिको रूपमा लिइन्छ ।

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

मौरीपालन कृषक मिश्रले मौरीबाट विष उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् । महको घारभित्र रु ६० हजार पर्ने मेसिन जडान गरी सिसासँगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा विष छाड्ने बताइएको छ ।

उक्त विष औषधि प्रयोगमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले विष उत्पादन गर्ने योजना रहेको उनले बताए । सिसामा थोरै विष छाड्ने भएकाले उक्त विष कोट्याएर सङ्कलन गरिनेछ । उक्त विषको प्रतिकिलो रु २५ लाखसम्म मूल्य पर्ने बताइएको छ । मौरीपालन किसान मिश्रलाई मौरीसहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । मौरीपालनतर्फ कृषकलाई आकर्षित गर्न कार्यालयले मौरीसहितको घार अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!