
दमौली, १२ पुस । तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठले च्याउखेतीमा भविष्य देखे र च्याउखेती शुरु गरे । विगत सात वर्ष अगाडिदेखि च्याउखेती गरेका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहेका छन् ।
व्यावसायिकरुपमा च्याउखेती गरिरहेका श्रेष्ठ अहिले सन्तुष्ट छन् । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ”, श्रेष्ठले भने, “मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।”
उनले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहेका छन् । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताउँछन् । उनले च्याउखेतीका लागि आठ वटा टनेल बनाएका छन् । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उनले बताए ।
च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताए । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा ४०० किलो च्याउको बीउ रोपेका छन् । चौबीस दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ ।
“एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप ४०० किलो च्याउको बीउ लगाएको छु”, उनले भने । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।
उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताए । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उनले सुनाए । उनले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आएका छन् ।
“बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ,” उनलेभ ने । श्रेष्ठका अनुसार थोकमा प्रति किलो रु १६० र खुद्रा रु २०० सम्म च्याउ बिक्री हुने गरेको छ ।
च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०-१५ जनालाई रोजगारी दिएका छन् ।