
विराटनगर, १३ पुस । अनार एक फाइदाजनक फल हो । नेपाली समाजमा धेरैेजसो बिरामी भेट्न जाँदा कोसेलीमा अनार लाने गरेको पाइन्छ । औषधिका रुपमा लिइने अनार बिरामीलाई समेत खुवाइने गरिन्छ ।
फाइबर, प्रोटिन, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट, क्यालसियम, आइरन, पोटासियम प्रशस्त मात्रामा पाइने अनारको सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । अनार मात्र होइन अनारका बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक छ ।
अनारको बोक्रामा पाइने तत्वहरूले दाँतको समस्या हटाउन मद्दत गर्छ । त्यसबाहेक अनारको बोक्राले घाँटी खसखस हुने समस्यालाई निको पार्छ । यदि तपाइँको गिजाबाट रगत निस्किन्छ भने तपाइँको लागि अनारको बोक्रा निकै लाभदायक हुन्छ । अनारको बोक्रा खाने गरेमा शरीरमा आइरनको कमी हुन पाउँदैन ।
भिटामिनयुक्त अनारको बोक्राले छाला चम्किलो पार्ने मात्र होईन कैयौँ रोग पनि लाग्नबाट बचाउन सक्छ । महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।
साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन होस् तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ । बोक्राको धूलो पानीमा मिसायर खानाले निकै फाईदा हुन्छ । अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाइदा हुने देखिन्छ ।