
विराटनगर, १४ पुस । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुलाउने भएको छ । सन् २०२१ को पहिलो दिन (१७ पुस) बाटै भारतले प्याज निर्यात खुलाउने निर्णय भएको हो । यो निर्णयसँगै नेपालसहित प्याज आयातका लागि भारतसँग निर्भर रहेका दक्षिण एसियाली राष्ट्रका उपभोक्तालाई खुसी मिलेको छ ।
भारतले तीन महिनाअघि प्याज उत्पादन घटेको र आन्तरिक खपतमै उपयोग गर्ने नीति लिएर निर्यात रोकेको थियो । सोहीकारण नेपालमा प्याजको भाउ अकासिएको थियो । नेपाल प्याजमा ९० प्रतिशतभन्दा बढी परनिर्भर छ । यसमध्ये चीनबाट करिब ५ प्रतिशत मात्र प्याज आयात हुने गरेको छ ।
बाँकी प्याजका लागि भारतमै निर्भर हुनुपर्ने बाध्यता छ ।भारतले प्याजमा प्रतिबन्ध लगाएपछि सुरुका केही दिनमा प्याज अभाव भई बजार मूल्य अकासिएको थियो, तर पछि व्यवसायीले विभिन्न बजारबाट खरिद गरी भारतीय बजारबाटै प्याज भित्रायाइरहेका छन् । अहिले सरकारले निर्यात खुला गर्ने घोषणा गरेपछि आयात गर्न थप सहज हुने व्यवसायीको भनाइ छ ।