२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सिन्धुलीमाढी, १६ पुस । सिन्धुलीको दुधौली नगरपालिका–११, टाँडीका महिलाले उत्पादन गरेका दुनाटपरी युरोपमा निर्यात हुन थालेका छन् । छ हजार टपरी महिला उद्यमी महासङ्घ नेपाल काठमाडौँले जर्मनी पठाएको हो ।

महासङ्घका बजार विकास अधिकृत भूपेन्द्र लम्सालका अनुसार बन्दाबन्दीको केहीअघि दुनाटपरी जर्मन पठाइएको थियो । अहिले भने कोरोना महामारीका कारणा जारी लकडाउनका कारण युरोप उडान बन्द भएकाले दुना टपरी युराेप पठाउन सकिएको छैन ।

उडान सुरु हुनासाथ फेरि फेरि पठाउने तयारीमा आफूहरू रहेको उनले बताए । महिला उद्यमीले उत्पादन गरेको सामान बिक्री गर्न महिला उद्यमी महासङ्घ नेपाल काठमाडौँले बजारीकरणमा सहयोग गर्दै आएको छ ।

सोही क्रममा टाँडीका महिलाले उत्पादन गरेको दुनाटपरी युरोप पठाइएको उनले सुनाए ।  गाउँघरमै बिक्री गरिने मूल्य टपरी प्रतिगोटा दुई रुपियाँ र दुना प्रतिगोटा एक रुपियाँ ५० पैसामा खरिद गरी युरोप पठाइएको बजार विकास अधिकृत लम्सालले जानकारी दिए ।

टाँडीमा दुई वर्षअघि महिला रोजगारीका लागि दिगो वित्तीय परियोजना सञ्चालन भएपछि सातदिने तालिम लिएर १९ जना महिला मिलेर सामूहिक रूपमा दुनाटपरी कारखाना खोलेका हुन् । परियोजनाअन्तर्गत सहकार्य नेपालले महिलालाई सातदिने तालिम र दुना, टपरी बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको उक्त कारखाना सञ्चालन गर्दै आएको खुसियाली कृषि तथा उद्यमशील सहकारी संस्थाले जनाएको छ ।

सहकारीका अध्यक्ष राधा कार्कीका अनुसार गाउँका महिलाले बनाएर ल्याएको दुनाटपरीको लाफा सहकारीले किन्छ । तयारी टपरी प्रतिगोटा दुई रुपियाँ र दुना प्रतिगोटा डेढ रुपियाँका दरले बिक्री भइरहेको छ । उत्पादन भएको टपरी र दुना गाउँघर र छिमेकी जिल्लामा पनि बिक्री हुँदै आएको छ । महिला उद्यमी महासङ्घ नेपालमार्फत युरोपसम्म निर्यात हुन थालेपछि महिला उद्यमी झनै उत्साहित भएका छन् ।

३० हजार दुनाटपरी उदयपुरको कञ्चनपुर पुर्याएर बिक्री गरेको र अरू उत्पादन गाउँघरमा नै बिक्री भइरहेको भन्दै उहाँले गाउँघरमा विवाह, व्रतबन्ध तथा धार्मिक कार्यमा दुना टपरीको प्रयोग हुने गरेको उनले बताइन् ।

प्लास्टिकको प्लेटबाट हुने वातावरणीय प्रदूषण कम गर्न पनि दुना टपरी प्रचारप्रसारको खाँचो रहेको उनको भनाइ छ । दुधौली नगरपालिका–११, शनिबारे निवासी शान्ता गौतमले दुई वर्षअघि दुना, टपरी बनाउने सातदिने तालिम लिएपछि जङ्गलबाट पात ल्याएर फुर्सदको समयमा घरमै बसेर टपरी, दुना र बोहोताको लाफा बनाउने र नजिकैको दुना टपरी कारखानामा एक रुपियाँ गोटाले बेच्ने गरेको बताइन् ।

सहकारीका अनुसार गाउँमै दुना टपरी बनाउने उक्त कारखाना स्थापना भएपछि जङ्गलमा सुकेर खेर जाने सालको पात अहिले पैसामा परिणत भएको छ । महिलालाई दुना टपरी बनाउने सीप सिकाउने र कारखाना खोल्न सहजीकरण गर्ने सं स्था सहकार्य नेपालले भने उत्पादित सामानको बजारीकरणका लागि सदरमुकाममा कोसेली घरको स्थापना गरिएको जनाएको छ । संस्थाका अध्यक्ष खेटराज अधिकारीले बिक्री नभएको दुनाटपरी कोसेली घरले खरिद गरेर सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!