
बाँके, २२ पुस । बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ड्रागन फ्रुटको १० वटा बोटबाट वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् ।
छ वर्ष वैदेशिक रोजगारमा ड्रागन खेती गरेर घर फर्किएका मगरले मालेसियाबाट एउटा बोट ल्याएर आफ्नै बारिमा खेती शुरु गरेका हुन् । बाँकेको खजुरा गाँउपालिका वडा नं. ४ का तिलक सिरिस मगरले ६ वर्ष सम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बसे ।
मलेसियामा ड्रागन फ्रुटको फार्ममा काम गरेका मगर अहिले भने आफ्नै ठाउँमा ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । शुरुमा एउटा बोटबाट खेती शुरु गरेका मगरको बारिमा अहिले १ सय १० वटा पिलरमा ४ सय ४० वटा विरुवा रहेका छन् । १० वटा बोटले आम्दानी दिन थालिसकेको छ । गत वर्ष १० वटा विरुवाबाट ४० हजार रुपैयाँ आम्दानी भएको र यस वर्ष अहिलेसम्म ३० हजार रुपैयाँ बढीको विक्री भइसकेको बताए ।
ड्रागन फ्रुट खेतीमा मगरकी बहिनी कविता थापाले सघाउँदै आएकी छन् । ड्रागन फ्रुटको बजारको समस्या नरहेको थापाले बताए । अहिलेसम्म घरबाटै प्रति केजि ६ सय रुपैयाँको दरले विक्री भइराखेको छ । अहिले सेतो र पिङ्क गरी दुई किसिमका ड्रागन फ्रुटको विरुवा लगाएको पनि थापाले बताए ।
स्वास्थ्यको लागि लाभदायक भएकोले गाँउपालिकाले ड्रागन खेतीलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्राविधिक रुपले सहयोग गरी किसानहरुलाई ड्रागन फ्रुट खेतीमा प्रोत्साहन गर्न लागेको गाउँपालिकाका कृषि शाखा प्राविधिक अंकित विश्वकर्माले बताए ।
पालिकालाई नामुना गाँउपालिका बनाउने योजना भएकाले पनि कृषि तर्फ ड्रागन फ्रुटलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना गाउँपालिकाले बनाएको छ ।