
विराटनगर, १ माघ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासमै दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने । राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।
गत साता अमेरिकी संसद् भवनमा भएको हूलदङ्गालाई प्रोत्साहित गरेको अभियोगमा उहाँ विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । संसदमा महाअभियोग सम्बन्धी प्रस्तावमा भएको मतदानमा महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ भने विपक्षमा १ सय ९७ मत परेको छ । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।
तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सांसदहरु छन् । तर ट्रम्पले प्रतिनिधित्व गर्ने दल रिपब्लिकन पार्टीका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् । महाअभियोग प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसका लागि दुई तिहाइ बहुमत आवश्यक हुन्छ ।
यता, दोस्रोपटक महाभियोग प्रस्ताव पारित भएपछि ट्रम्पले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले गत साता संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमणसमेत भने । जबकी, गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए ।
हुलदंगाका क्रममा ५ जना मारिएपछि अहिले यही विषयलाई लिएर अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ । तर, ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्टबाट पोस्ट गरिएको नयाँ भिडियोमा उनले शान्त रहनका लागि अपिल गरेका छन् । सबै अमेरिकीहरु एक भएर अघि बढ्नुपर्ने धारणा उनले राखेका छन् ।
‘मेरा वास्तविक समर्थकहरुले कहिल्यै राजनीतिक हिंसालाई मलजल गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै कानूनको अवज्ञा वा अमेरिकी झन्डाको असम्मान गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै अन्य अमेरिकीहरुलाई चिन्तित बनाउने वा धम्की दिने गर्दैनन्,’ ट्रम्पले भने ।
२० जनवरीमा ट्रम्प स्वत पदमुक्त हुनेछन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही दिन पद तथा गोपनियताको सपथ लिनेछन् ।