२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भरतपुर, ४ माघ । झिँगाको आम बुझाइ रोग फैलाउने र घिनलाग्दो कीरा भन्ने हुन्छ । भरतपुर , व्यावसायिक रूपमा , गाई , भैसिं , मौरी , कुखुरा पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। तर सबैले हेप्ने गरेको ‘झिँगा’ को समेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला । फोहोरबाट उडेर आएको झिँगाले खाना नै दूषित बनाएको हैरानीमा नपरेका मानिस कमै होलान् ।

गर्मी बढ्दै जाँदा झिँगाले रोग सार्ने चिन्ता उत्तिकै हुन्छ तर यसको व्यवस्थापन गर्न सके झिँगा पनि आम्दानीको राम्रो स्रोत बन्न सक्ने देखिएको छ तर भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारीले झिँगा पालेर राम्रो आम्दानी गरिरहेका छन् ।

एक वर्षदेखि व्यावसायिक रूपमा झिँगा पाल्दै आएका अधिकारी झिँगाबाटै फोहोर नभई मोहोर कमाउन व्यस्त छन् । उनी झिँगा पालेरै आफूले अहिले मासिक डेड लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको बताए ।

उनले भने, “अहिले त झिँगाको बीउ उत्पादनमा भ्याइनभ्याई छ । तीन हजार जति प्युपालाई अहिले १५ हजार रुपियाँको प्याकेज बनाएर किसानलाई बेचिरहेका छौँ ।” झिँगा पाल्नकै लागि किसानले खरिद गर्ने गरेको उनको भनाइ छ ।

अहिलेसम्म अधिकारीबाट १० जना किसानले प्युपा खरिद गरी लगेको र अरू सय जना किसानले अर्डर गरेको उनले जानकारी दिँदै उनले भने, ‘हामीले किसानलाई झिँगा पाल्ने सीपसमेत सिकाएर प्युपा बेच्ने गरेका छौँ।’

उनका अनुसार झिँगाको प्युपा विशेषगरी बङ्गुर, बिरालो, कुकुर, कुखुरा, माछा लगायतका पशुपन्छी र जलचरका लागि प्रोटिनयुक्त आहारा हो । त्यस्तै यसबाट उत्पन्न हुने फोहोर र झिँगाको दिसा जमिनका लागि नाइट्रोजन बढी दिने प्राङ्गरिक मल हो । यस्तो मलमा तीन प्रतिशतसम्म नाइट्रोजनको मात्रा हुने बताइन्छ । यसै महत्वका आधारमा अहिले झिँगाको प्युपा दानाका लागि प्रतिकिलो १५० रुपियाँ र मल प्रतिकिलो ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ ।

झिँगा पाल्न खर्च धेरै नभए पनि आम्दानी राम्रै रहेकाे उनले बताए । २० फिट चौडाइ र ३० फिट लम्बाइको कोठामा मिलाएर झिँगा पाले दैनिक एक क्विन्टलसम्म प्युपा उत्पादन गर्न सकिने अधिकारीको अनुभव छ । दैनिक एक क्विन्टल प्युपा उत्पादन गर्ने किसानले मासिक चार लाख ५० हजार रुपियाँको हाराहारीमा आम्दानी गर्ने र त्यसको आधा रकम व्यवस्थापनमा खर्च गरे पनि अरू सहजै बचाउन सक्ने उनको अनुभव छ ।

“झिँगाले दुई दिनमै अन्डा पार्न थाल्छ । अन्डा तीन देखि पाँच दिनमा कोरलिएर लार्भा बन्छ । त्यही लार्भा १० देखि १५ दिनमा प्युपा बन्छ भने त्यो प्युपा २०-२५ दिनभित्र झिँगा बन्ने गर्छ”, झिँगाको जीवनचक्रबारे जानकारी दिँदै किसान अधिकारीले भने ।

“झिँगालाई त पानी मात्रै दिने हो, लार्भा र प्युपाका लागि भने कुहिएका र सडेका तरकारी तथा फलफूल आहाराका रूपमा दिनुपर्छ”, उनले भने । “अहिले महानगर र नगरपालिकाहरूलाई घरभित्रबाट निस्कने फोहोर व्यवस्थापनमा साह्रै टाउको दुःखाइ छ । त्यही घरभित्रबाट निस्कने कुहिने र सड्ने फोहोर छुट्याएर हामीलाई दिए झिँगा पालेर आम्दानी गरी देखाउने छौँ”, अधिकारीले भने ।

आफूले भने अहिले आफ्नै करेसाबारीमा निस्किएको घाँसपात कुहाएर झिँगाको प्युपा र लार्भाका लागि आहाराको जोहो गरेको उनले बताए । झन्डै तीन दशकदेखि प्राङ्गारिक कृषि कर्म गर्दै आएका पर्माकल्चर (दिगो जीवन पद्धतिमा आधारित कृषि)कर्मी अधिकारीले झिँगा भने एक वर्षदेखि पाल्दै आएका हुन् ।

“म एक वस्तु धेरै काम गर्ने गरी उत्पादनमा लागेको किसान हुँ, मैले उत्पादन गरेको झिँगाको प्युपा आफ्नै माछा, कुखुरालाई आहारा र मल खेतबारीमा प्रयोग गर्न पनि सक्छु”, उनले भने ।

अधिकारीको बारीमा अहिले प्राङ्गरिक तरकारी तथा अन्न तथा खेती उत्पादन हुन्छ । उनले उत्पादन गरेका ११४ प्रजातिका धानका बीउमध्ये ११० वटा बीउलाई जिङ्क बैङ्क खुमलटारले सञ्चित गरिराखेको छ ।

झिँगा पालन अधिकारीको नयाँ क्षेत्र हो । यसमा उनलाई कृृषि तथा वन विश्व विद्यालय र राष्ट्रिय आविष्कारक केन्द्रले अनुसन्धानमा समेत सहयोग गरेका छन् । आफ्नै नाति पशु चिकित्सक डा. विप्लव सापकोटाले अध्ययनका क्रममा झिँगा पालनलाई व्यावसायिक बनाउन सकिने अध्ययन गरेपछि त्यसलाई आफूहरूले व्यवहारमै प्रयोगमा ल्याएको अधिकारीले बताए ।

“अहिले पशुपन्छीका लागि प्रोटिनयुक्त दाना माछाको धुलो र भटमास भारतबाट आयत गर्नुपर्ने बाध्यता छ । यदि झिँगा पालन गर्न सकियो भने त्यो प्रोटिनको स्रोत यतैबाट पनि उत्पादन गर्न सकिने र वार्षिक करोडौँ रुपियाँ भारत जाने पैसा रोकिने छ”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!