
एजेन्सी, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल आजबाट समाप्त सकिँदैछ । आज नै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोइ बाइडेनले राजधानी वाशिंगटन डीसीमा पदभार ग्रहण गर्नेछन् । आज मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिँदै व्हाइट हाउसको यात्रा गर्नेछन् । उनी अमेरिकाको ४६ औं राष्ट्रपति हुनेछन् ।
जोइ बाइडेनले शपथ लिनुभन्दा एक दिनअगाडि ट्रम्पले बिदाइ भाषण गरेका छन् । मंगलबार आफ्नो विदाई भाषणमा उनले सरकारको उपलब्धिबारे जानकारी दिँदै नयाँ सरकारलाई शुभकामना दिएका छन् । ट्रम्पले आफूलाई कुनै युद्ध बिना नै दशकको पहिलो राष्ट्रपति बन्न पाउँदा गर्व महसुस भएको बताए ।
उनले भने, ‘हामीले अमेरिकाको शक्तिलाई घरमा कायम गर्यौं र बाहिर पनि अमेरिकी नेतृत्वलाई नयाँ उचाईसम्म पुर्यायौं । हामीले संसारलाई चीनविरुद्ध एकजुट गर्यौं, यस्तो पहिले कहिले भएको थिएन ।’
उनले नयाँ प्रशासनको स्वागत गर्दै भने, ‘म बाइडेनको प्रशासनको सफलताको कामना गर्छु । नयाँ प्रशासनलाई स्वागत छ र अमेरिकालाई सुरक्षित र समृद्ध बनाइ राख्नका लागि प्रार्थना गर्छु ।’ आफ्नो विदाई भाषणमा उनले श्रीमती मेलानिया र परिवारलाई पनि धन्यवाद दिए । साथै उनले उप–राष्ट्रपति माइक पेन्समाथि पनि आभार व्यक्त गरे ।