एजेन्सी, २७ फागुन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । बुधबार राति भएकाे क्याटलान क्लब बार्सिलोनासँगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपनि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।
पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो । घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।
गए राति नै भएको अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब लेइपिजलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकाे छ । हंगेरीमा भएकाे खेलमा लिभरपुलले लेइपिजमाथि २-० गोलको जित निकालेकाे हो । यसअघि पहिलो लेगमा पनि २-० गोलकै जित निकालेका कारण लिभरपुल समग्रमा ४-० को नतिजासहित अघिल्लो चरणमा पुग्यो ।




