काठमाडौं, २ चैत्त । अफगानिस्तानले जिम्बावेविरुद्धको दोस्रो टेष्ट खेल जितेको छ । अफगानिस्तानको जितसँगै दुई खेलको टेष्ट श्रृखंला १–१ को बराबरीमा सकिएको छ ।
जिम्बाबवेले प्रस्तुत गरेको १०८ रनको लक्ष्य अफगानिस्तानले पाँचौं तथा अन्तिम दिनमा चार विकेटको क्षतिमा पुरा गर्यो ।
अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ५८ रनको योगदान दिए । इब्राहिम जर्दनले २९ रन बनाए । जिम्बावेका लागि ब्लेसिंग मुजरबानी र रयान बर्लले सामान दुई दुई विकेट लिए ।
त्यसअघि, अबुधाबीमा टस हारेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अफगानिस्तानले हश्मतुल्लाह शाहिदीको दोहोरा शतक तथा अशगर अफगानको १६४ रनको सहयोगमा पहिलो पारी चार विकेटको क्षतिमा ५४५ रन बनाएर घोषणा गर्यो । जवाबमा जिम्बाबवेले मात्र २८७ रनमा समेटिन पुग्यो । जिम्बाबवेका लागि सिकन्दर राजाले सर्वाधिक ८५ तथा प्रिन्स मसभौरेले ६५ रनको पारी खेले ।
अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक चार तथा साएद शिरजादले दुई र आमीर हाम्जाले तीन विकेट लिए । पहिलो पारीमा २५८ रनले पछाडि परेको जिम्बाबवेले फ्लो अन पाएर दोस्रो पारीमा ३६५ रन बनाएपछि अफगानिस्तानले १०८ रनको लक्ष्य पाएको थियो । जिम्बाबवेको पारी कप्तान सीन विलियम्सले शतक पुरा गर्दै १५१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । डोनाल्ड ट्रिपानोले ९५ रन बनाए ।
अफगानिस्तानको बलिङ्गमा राशिद खानले ६२ ओभर बलिङ गरेर सर्वाधिक सात विकेट लिए । सैएद शिरजाद, आमीर हाम्जा र जावेद अहमदीले एक एक विकेट लिए ।
जिम्बाबवेका सीन विलियम्स प्लेयर अफ द् सेरिज तथा हश्मतुल्लाह शाहिदी प्लेयर अफ द् म्याच घोषित भए ।




