विराटनगर, १३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ । नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भइरहेको क्यानले जनाएको छ ।
नेपालले टियु क्रिकेट मैदानमा अप्रिलको मध्यतिर सिरिज खेल्नेछ । क्यानले दुई दिन अघि सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नेपालमा कोरोना भाइरसको महामारीको दोस्रो चरणको संक्रमण बढेसँगै सिरिजको अन्तिम निर्णय क्यानले दिन नसकेको हो ।
नेदरल्यान्ड्स र मलेसियाले क्यानको प्रस्तावलाई सहजै स्वीकार गरेका छन् । पछिल्लो समय नेपालमा बढ्दो कोरोना प्रभावका कारण थप केही समय कुर्ने पर्ने भएको छ । सबै तयारी भए पनि कोरोना प्रभावका कारण रोक्नु परेको हो ।
अप्रिलमा सिरिज हुने पक्का भएसँगै क्यानले खेलाडीको प्रशिक्षण पनि शुरु गर्ने तयारी गरेको छ । यसअघि ओमानमा हुने सिरिजका लागि क्यानले बन्द प्रशिक्षण सुरु गरेको थियो । तर, ओमान सिरिज अनिश्चितकाका लागि स्थगित भएपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित गरेको थियो । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।




