विराटनगर, १३ चैत । सुनसरीको हरिनगर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ् शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । हरिनगर गाउँपालिकाको आयोजनामा बुधबारबाट गाउँपालिका स्तरीय अन्तर मावि राष्ट्रपति रनिङ् शिल्ड सुरु भएको हो ।
सिताराम आधारभूत विद्यालयबाट सुरु भएको दौडमा ४० वर्ष भन्दा माथि उमेरका व्यक्तिहरूले प्रतियोगिता सहभागी भएर हरिनगरा उच्च माविको खेलमैदान सम्म दौडेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का र शिक्षा शाखा प्रमुख गुणराज ढकालले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।
खेलकुदको विकास र स्वास्थ्यको लागि भन्दै सुरु भएको हरिनगर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड तथा अध्यक्ष कप खेलकुद चैत २२ गतेसम्म चल्ने शिक्षा शाखाका अजितकुमार मल्लिकले बताए । विजयी प्रतियोगीहरुलाई सिल्ड, पुरस्कार र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।




