काठमाडौं, २२ वैशाख । इंग्लिस क्लब म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । ऐतिहाद रङशालामा गए राति अबेर सम्पन्न च्याम्पियन्स लिगअन्तगर्त सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएर सिटीले पहिलो पटक लिगको फाइनलसम्मको यात्रा सुनिश्चित गरेको हो ।
पहिलो लेगमा २–१ को अग्रता लिएको सिटीले सेमीफाइनलको दोस्रो लेगमा उक्त अग्रतलाई कायम राख्दै पीएसजीमाथि २–० को जित हात पार्यो । म्यान्चेष्टर सिटीलाई फाइनलसम्मको यात्रा सुनिश्चित गराउन रियाद महरेजले दुई गोल गरे ।
खेलकाे ११औं मिनेटमा महरेजले पहिलो गोल गर्दै म्यान्चेष्टर सिटीलाई सुरुवाती अग्रता दिलाए । घाइते भएका कायल एम्बाप्पेको अनुपस्थिति पीएसजीका लागि महँगो साबित भयो । पहिलो हाफमा १–० को अग्रता लिएको म्यान्चेष्टर सिटीका लागि महरेजले खेलमा एक घण्टापछि दोस्रो गोल गरे ।
उक्त गोल नै सिटीलाई फाइनलसम्मको यात्राका लागि पर्याप्त भयो । फिल फोडेनको पासलाई महरेजले गोलको दिशा दिए । २९ मईमा म्यान्चेष्टर सिटीले रियल मड्रिड वा चेल्सीबीचको विजेतासँग च्याम्पियन्स लिगको उपाधिका लागि स्पर्धा गर्नेछ ।




