सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशबाट बेरोजगारीलाई अन्त्य गरी १० वर्षमा नेपाललाई विकसित मुलुकमा र एसियाको धनी मुलुकको रूपमा स्थापित गर्ने बताउनुभएको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
देशको हरेक क्षेत्रमा सरकारले काम गर्दै आएको र नीति तथा कार्यक्रममा समेत नागरिकको हितलाई ध्यानमा राखेकाले रोजगारी सिर्जना गर्दै विकसित मुलुकको रूपमा स्थापित गर्ने दाबी उहाँले गर्नुभयो। सबै मिलेर देशबाट बेरोजगारी, पछौटेपन र गरिबी अन्त्य गर्न आवश्यक रहेको मन्त्री कार्कीले बताउनुभयो।
कार्यक्रममा मन्त्री कार्कीले सञ्चार र सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँको रूपमा जोडेको बताउनुभयो। उहाँले आफू सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का सांसदसमेत रहेकाले अब प्रत्येक घरमा सञ्चारको विस्तार मात्रै नभई रोजगारको अवसर पनि सिर्जना गर्ने बताउनुभयो। सबै विद्यालय तथा कलेजहरूलाई सूचना र प्रविधिमा जोड्ने काम भइरहको जानकारी दिँदै उहाँले यस क्षेत्रमा विद्यालयसहित भौतिक संरचनाहरू आफ्नो पहलमा निर्माण भइरहेको बताउनुभयो।
सञ्चार र सूचना प्रविधिको विकासको क्रममा सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा नागरिकलाई लाभ पुग्ने गरी सञ्चार नेटवर्कको विकास गरेको मन्त्री कार्कीले बताउनुभयो।




