काठमाडौँ । बागमती प्रदेश सरकारले सप्ताहव्यापी राष्ट्रिय पोल्ट्री दिवस मनाउने भएको छ । प्रदेश सरकारअन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रूपमा पुस ११ गतेदेखि १७ गतेसम्म दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाउने तयारी गरेको हो । बागमती प्रदेशको अर्थतन्त्रमा विशेष योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको उचित सम्मान र सम्बोधन गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरी सप्ताहव्यापी रूपमा राष्ट्रिय पोल्ट्री दिवस मनाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।
जसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्ययोजना तयार पारेको छ । कार्यक्रमको आयोजना गरी बागमती प्रदेशको कृषि अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पोल्ट्री व्यवसायको वर्तमान अवस्थाको बारेमा समीक्षा गर्दै पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवर्द्धन गर्ने तथा पोल्ट्रीजन्य उत्पादको पौष्टिक महत्त्वका बारेमा उपभोक्तालाई जानकारी गराइ दैनिक उपभोगका लागि आकर्षित गर्ने मन्त्रालयको उद्देश्य रहेको छ । कार्यक्रममा सरोकारवालाहरूसँग राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रम सञ्चालन सम्बन्धमा समन्वय र सहजीकरण
राष्ट्रिय पोल्ट्री दिवस मनाउने सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले तय गरेको “पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता’ भन्ने नारा उल्लिखित व्यानर बनाइ कार्यालय परिसर तथा अन्य स्थानमा समेत टाँस गरिने कार्यक्रम छ । स्थानीय तहमा क्रियाशिल पोल्ट्री क्षेत्रसँग सम्बन्धित संस्थाहरूलाई कार्यक्रममा सहभागी गराउने र उक्त क्षेत्रलाई समेटेर कार्यक्रम तयार गरिने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित पालिकाहरूसँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कार्यक्रमको रूपरेखा तयार गर्ने, निर्देशनालय/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूले स्वीकृत कार्ययोजनाको अधीनमा रही क्रियाकलाप/गतिविधहरू तय गर्ने र जिम्मेवारी बाँडफाँड समेत हुनेछ । पशुपन्छी पालन क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान पुर्याउँदै आएको छ । त्यसमा पनि बागमती प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कूल मासु उत्पादनमा २२ प्रतिशत तथा अण्डा उत्पादनमा ६० प्रतिशत योगदान दिँदै आएको छ ।
पशुपन्छी पालन क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान पुर्याउँदै आएको छ । त्यसमा पनि बागमती प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कूल मासु उत्पादनमा २२ प्रतिशत तथा अण्डा उत्पादनमा ६० प्रतिशत योगदान दिँदै आएको छ ।
आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार बागमती प्रदेशमा १ लाख ६३ हजार ९ सय ३९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जसमध्ये कुखुरा/हाँसको मासु उत्पादन १ लाख १३ हजार ४ सय ३२ मेट्रिक टन रहेको छ । प्रदेशमा उक्त अवधिमा ८ लाख ९९ हजार ३ सय ५३ गोटा अण्डा उत्पादन भएको थियो । प्रदेशको कूल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत छ भने राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान करिब ६० प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
वि.सं. २०१७ साल पौष १७ गते सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्त्वलाई दृष्टिगत गरी वि.सं २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । राष्ट्रिय पोल्ट्री दिवस २०७९ का लागि मन्त्रालयले “पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार : हाम्रो प्रतिबद्धता” को नारा तय गरेको छ ।




