काठमाडौँ २१ पुष: प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेकै दिन पुस ११ गते ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान र छानबिन सम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।
गृहको पत्र पाएलगत्तै प्रहरी महानिरीक्षक सिंहले उक्त घटनाको अनुसन्धान गर्न सीआईबीका डीआईजी सिंहको नेतृत्वमा एसपी कमल थापा, प्रहरी अस्पतालका मनोचिकित्सक डा. आशीष दत्त, सीआईबीकै निरीक्षक दुर्गा योञ्जनसहितको टोली गठन गरेका हुन् ।




