उर्लाबारी,२४ पुस: उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । व्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ शुक्रबार राति चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताउनुभयो । प्रहरीले सहकारीका अध्यक्ष मीना कार्की र कर्मचारी प्रकाश खनालसँग पनि आवश्यक सोधपुछ गरेको छ । दुई जना बचत सङ्कलकलाई भने प्रहरीले आवश्यक सोधपुछपछि छाडेको छ ।
बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपियाँ चोरी भएपछि शेयर सदस्यहरूले त्यति ठूलो रकम किन बैंकमा जम्मा गरिएन भनेर प्रश्न उठाएका छन् । प्रहरी निरीक्षक मिलन थापाले भन्नुभयो, “कति पैसा भल्टमा थियो भन्ने विषयमा सञ्चालक र कर्मचारीहरू नै यकिन हुनुहुन्न ।”
शेयर सदस्यहरूले अरु नै बेला हिनामिना गरेको रकम हिसाब मिलान गर्न चोरी गरेको बहाना बनाएको हुनसक्ने आरोप लगाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि घटनाबारे खुल्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।




