विराटनगर २७ पुष:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा ३ जना विरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका तत्कालीन कार्यालय प्रमुख उपसचिव रमेशबहादुर दाहाल सहित तीन जना विरुद्ध आर्थिक अनियमितता गरेको आरोपमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा दाहाल सहित एकाइका इन्जिनियर निरज कुमार झा तथा विद्यालयका प्रधानाध्यापक रामविलास यादव विरुद्ध पनि मुद्दा दायर गरिएको छ । तीनै जनालाई एक लाख ८६ हजार ७६५ रुपियाँ बिगो बमोजिम कारबाहीको माग गरिएको छ ।




