२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

स्याङ्जा, १८ कात्तिक । गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् । दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताए ।

“विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ,” उनले भने ।

गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गरेका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् ।

अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदूवा खेतीबाट रु दुई लाख आम्दानी भएको बताउँदै रानाले भने, “यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।” तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क हुनुहुन्छ ।

गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गरेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गरेका हुन् ।

गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताए ।

नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए । अदुवासँगसँगै बाख्रापालनसमेत गरेका उनले रु ३०/४० हजार कमाउनका लागि विदेशिन नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!