विराटनगर, १५ जेठः आगामी आर्थिक वर्ष २०८२÷८३ मा विपद् पछिको पुनर्निर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्धारा आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरिएको बजेटमा भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्त्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न सो रकम विनियोजन गरिएको जानकारी दिए । विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गरिने, विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्बनमा जोड दिइने बजेट वक्तव्यमा उल्लेख छ ।
प्राकृतिक प्रकोप, विपद् र दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा गर्न सम्पत्ति बिमाको दायरा विस्तार गरिनेछ बिमा कम्पनीलाई ग्रामीण स्तरसम्म पहुँच विस्तार गर्न निर्देशित गरिनेछ । साइवर सुरक्षा बिमा सेवा सञ्चालन गरिनेछ । निक्षेप तथा कर्जा सुरक्षण कोषको सम्भावित जोखिम व्यवस्थापनका लागि पुनःबिमाको व्यवस्था मिलाइने उनको भनाई छ ।




