सुनसरी : सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानास्थित कटान खोलाको बगरमा बालुवामा गाडिएको अवस्थामा लागू औषध गाँजा फेला परेको छ।
हिजो साँझ ५:०० बजे प्राप्त एक गोप्य सूचनाको आधारमा प्रहरी चौकी घुस्की मार्फत सूचना पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, सुरक्षा बेस बसन्तपुर र जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको संयुक्त टोली घटनास्थलमा परिचालित भएका थिए ।
प्रहरीका अनुसार, सो स्थानमा गरिएको विशेष खोजतलासबाट कटान खोलाको किनारमा बालुवा मुनी लुकाइ छिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ११ सय २० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रबक्ता योगराज खतिवडाले जानकारी दिए !
बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी जिल्ला प्रहरी कार्यालय, सुनसरीमा ल्याइएको छ। अहिले उक्त गाँजाको परीक्षण र अवैध कारोबारमा संलग्न व्यक्तिको खोजी साथै अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय सुनसरी प्रहरीले यस किसिमको अवैध लागू औषध कारोबार नियन्त्रणका लागि प्रदेशस्तरमै कडा निगरानी र खोजतलास अभियान चलाइरहेको छ।




