
धरान : धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बी’ लेभलको उपाधि जितेका छन्।
धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा संयोग/सगुनले हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमे। विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता जोडीले २७ हजार रुपैयाँ प्राप्त गरेका छन ।
प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्ड्रेस लिम्बुको जोडी संयुक्त तेस्रो स्थानमा रहँदै ९/९ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए।
महिला मिक्स डबल ‘बी’ लेभलतर्फ अनमोल राई र गीता राईको जोडीले उपाधि जिते। उनीहरूले सन्दीप राई र मनिषा तामाङलाई १६–२१, २१–१७ र २१–११ को प्रतिस्पर्धात्मक खेलमा हराउँदै उपाधि जितेका हुन्। विजेतालाई रु ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपविजेतालाई १८ हजार रुपैयाँ प्रदान गरिएको छ।
विशाल थापा–योगिता थापा र मनि चाम्लिङ–रोजीको जोडी संयुक्त रूपमा तेस्रो भएका थिए। उनीहरूले ५/५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
धरान नगरपालिका स्तरीय ‘सी’ लेभलको उपाधि आशिष राई–मनिल राईको जोडीले जिते। उनीहरूले १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उपविजेता जीवन कन्दङवा–कर्णदल लिम्बुले १० हजार, तेस्रो भएका राम लिम्बु–जीवन लिम्बु र सकुल गुरुङ–कुमारले ३/३ हजार नगद पुरस्कार प्राप्त गरे।
विजेताहरूलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक मनि चाम्लिङ राई, टङ्क लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।
कोशी प्रदेशभरका १९१ टिमको सहभागिता रहेको प्रतियोगितामा राष्ट्रिय खेलाडी विशाल तामाङ, विनय चौधरी, भोजबहादुर गुरुङ र महेश खडकाले मैत्रीपूर्ण प्रदर्शन प्रस्तुत गरेका थिए। त्यस्तै, मोरङका शारीरिक रूपमा अशक्त (एक हात नभएका) खेलाडी हेम गुरुङलाई खेलप्रतिको समर्पणका लागि नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।