सुनसरी : जनता समाजबादी नेपालका सहअध्यक्ष रकम चेम्जोङले पहिचानको आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास भइरहेको भन्दै तीव्र आपत्ति जनाएका छन्।
आज धरानमा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति एकताको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले “एमाले, कांग्रेस र माओवादीले जनजाति र आदिवासी समुदायलाई सदैव रंगभूमिमा राखेको बताए ।
“हामी लिम्बुवानको महान लक्ष्यका लागि लडिरहेका छौं। हाम्रो आन्दोलन बलिदानीपूर्ण छ, र त्यसलाई सम्झेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्छ,” चेम्जोङले भने। उनले ‘नो कोशी, नो केबलकार’ अभियानदेखि मुक्लुलुङ आन्दोलनसम्मका संघर्षहरूलाई पहिचानको आन्दोलनका अंगको रूपमा व्याख्या गरे।
उनका अनुसार राष्ट्रिय समिति नै पहिचानका एजेन्डा र लक्ष्य पूरा गर्नका लागि गठन गरिएको हो। तर पछिल्लो समय पहिचान विरोधी शक्तिहरूले जसपा फुटाउने खेल खेलेर आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेका छन्। “यदि हामी एउटै ठाउँमा उभिन सकेनौं भने हाम्रा अधिकारका लक्ष्य कहिल्यै प्राप्त हुँदैनन ।उनले भने,
चेम्जोङले आदिवासी, जनजाति, मधेसी, थारू, लिम्बू र अन्य उत्पीडित समुदायबीच सहकार्य र साझा मोर्चा निर्माणको आवश्यकता औंल्याउँदै भने, हामीले आन्दोलनलाई केवल सडकमा सीमित नराखेर राजनीतिक निर्णय क्षमतासम्म लैजानुपर्छ। आन्दोलन भनेको लक्ष्यसम्म पुग्ने हतियार हो।
उनले अन्य दलमा अलमलिएका पहिचानवादी कार्यकर्ताहरुलाई पनि जसपा नेपालमा फर्किन आह्वान गरे। अब अलमलको समय छैन। जसपा नै एकमात्र प्लेटफर्म हो, जहाँबाट हामी हाम्रो पहिचान र अधिकार सुरक्षित गर्न सक्छौं, उनले स्पष्ट पारे।
अन्तमा, चेम्जोङले मुक्लुलुङ आन्दोलनलाई साझा आन्दोलनका रूपमा अगाडि बढाउनुपर्ने भन्दै समन्वय, मोर्चाबन्दी र ऐक्यबद्धताको माध्यमबाट मात्र आन्दोलन सफल हुने धारणा राखे !




