
सुनसरी : धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा आज बिहीवारदेखि डिपो स्कुलको बास्केटबल कोर्टमा कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण वस्नेत परशुरामले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला सुनसरीले मोरङलाई ७४–३१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सुनसरीले पहिलो, दोस्रो र चौथो क्वाटरमा क्रमशः १५–९, २५–५ र २३–० को अग्रता लिएको थियो। मोरङले तेस्रो क्वाटरमा मात्र १७–११ को बढत लिन सकेको थियो।
खेलमा सुनसरीका टिम कप्तान विवेकमणि श्रेष्ठले व्यक्तिगत १५ अंक जोडेका थिए र म्यान अफ द म्याच घोषित हुँदै उनलाई ट्रफी प्रदान गरिएको छ ।
त्यसैगरी, दोस्रो खेलमा इलामले झापामाथि ८१–४० को प्रभावशाली जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। इलामले खेलका चारै क्वाटरमा क्रमशः १९–७, २२–१४, ३०–४ र १०–१५ अंक जोडे। व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै ३४ अंक जोडेका इलामका टेन्जिङ शेर्पा म्यान अफ द म्याच घोषित हुँदै उनलाई ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने धरान मेघा एमभीपी उपाधिका रूपमा घोषित उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, धरान बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी धरान १८ का अध्यक्ष प्रविण राई, वडा नं. १६ का अध्यक्ष मुरारी भट्टराई, वडा नं. ८ का अध्यक्ष धनबहादुर राई, डिपो स्कुल व्यवस्थापन समितिका सदस्य सूर्य पन्धाकलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल संघको विशेष सहयोगमा सञ्चालन गरिएको हो।