
काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार राजधानीमा विशेष कार्यक्रम गरी नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।
अब सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर पुगेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाई अहिले ८६ सेन्टिमिटरले बढेकाे हो ।
१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो ।