
इलाम, २१ पुस । इलाममा घाँटीमा खुकुरी प्रहार गरी पत्निको हत्या गरेकाे अभियोगमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ वर्षीय सुवास राई रहेका छन् ।
मंगलबार बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको विषयलाई लिएर आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए ।
हत्याको खबर पाएसँगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।