२०७९ माघ २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, २१ पुस । सुनसरी सदरमुकाम इनरुवामा रहेको सरकारी अस्पतालमा प्रभावकारी सेवा नभएको भन्दै स्थानीयले गुनासो गरेको र अस्पताल सुधार संघर्ष समिति आन्दोलित बनेको बेला प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

प्रजिअ पोखरेलले इनरुवा अस्पतालमा कार्यालय समयमा छड्के अनुगमन गर्दै अस्पतालको कमी–कमजोरीबारेमा निरीक्षण गरेका थिए । अनुगमन गर्ने क्रममा प्रजिअलाई सेवाग्राहीहरुले कार्यालय समयमा अस्पतालको कुनै पनि विभागमा चिकित्सक नआउने गरेको र ढिलो आउनेले समेत मैत्रीपूर्ण व्यवहार नगरी रुखो व्यवहार गरेको गुनासो सुनाएका थिए । कर्मचारी र चिकित्सकहरु समयमा नआउने गरेको हुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेकोसमेत गुनासो प्रजिअ पोखरेलसमक्ष राखेका थिए ।

अस्पतालमा कार्यालय प्रमुख, मेडिकल अफिसर, गाइनोलोजिस्ट, डेन्टल सर्जनलगायत विभागका चिकित्सकहरु समयमा नआउँदा सेवाग्राहीहरुलाई समस्या भएको गुनासो आउन थालेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले आफै मंगलबार कार्यालय समय भन्दाअघि नै अनुगमनमा पुगेका थिए । प्रजिअ पोखरेलले कार्यालय समयअघि नै निरीक्षणमा पुगी १०ः४५ सम्म अस्पतालमा नै विभिन्न वार्ड तथा शाखाहरुमा अनुगमन गरेका थिए । सो क्रममा कुनै पनि विभागमा चिकित्सकहरु कार्यालय समयमा नआएको अवस्था फेला परेको स्रोतले जनाएको छ ।

अस्पतालमा चिकित्सकहरुले पोशाक भत्ता लिने तर सरकारी पोशाक नलगाउने गरेको पनि पाइएको एक सेवाग्राहीले बताएका छन् । चिकित्सकहरुले पोशाकवापतको रमक लिए पनि सरकारी पोशाक नलगाउने गरेकाले सेवाग्राहीलाई चिन्नसमेत समस्या भएको अर्का सेवाग्राहीले बताएका छन् । मंगलबार सेवा लिन पुगेका अस्पतालमा चिकित्सकले सरकारी पोशाक नलगाएपछि चिन्न समस्या भएको गुनासो प्रजिअसमक्ष राखेका थिए ।

चिकित्सक ढिलो आउने गरेकाले बिरामीहरुलाई समयमै उपचार गर्न समस्या भएको अर्का सेवाग्राहीले बताएका छन् । ओपीडिमा १२ बजेसम्म मात्र पूर्जा काट्ने भएको हुँदा थप समस्या भएको सेवाग्राही मनिष कर्णले बताए । अस्पतालमा ११ बजे चिकित्सक आउने र ओपीडि पूर्जा १२ बजेसम्म मात्र काट्ने भएको हुँदा पूर्जा काट्नेले रकम मात्रै खर्च भएको र चिकित्सकलाई भेट्नसमेत नपाएकाले अर्को समस्या उत्पन्न हुन थालेको बुझिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अस्पतालमा पूर्व जानकारी नगराई छड्के गर्दा कर्मचारीहरुको उपस्थिति भए पनि व्यवस्थित नरहेको, सरसफाइमा ध्यान नदिएको र फोहोर जताजतै रहेकाले तत्काल सुधार गर्न भनेको प्रतिक्रिया दिए ।

पोखरेलले अस्पतालमा देखिएको समस्याहरुलाई समाधान गर्दै अस्पताललाई व्यवस्थित गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको बताए । पोखरेलले समयमा चिकित्सकसहित कर्मचारीहरु नआएको विषयसमेत रहेकाले आफू कार्यालय समयअघि नै पुग्दा इमर्जेन्सी कक्षमा दुईजना स्वास्थ्यकर्मी र कर्मचारी भेटिएको बताउँदै त्यहाँ देखिएको कमी–कमजोरीलाई सुधार गर्न भनिएको बताए ।

अस्पतालमा देखिएको बेथिति र कमजोरीलाई सुधार गर्दै व्यवस्थित गर्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएकोसमेत पोखरेलले बताए । पोखरेलका अनुसार जिल्ला अस्पताल भएरपनि सेवा प्रभावकारी नहुनुमा स्थानीयको निगरानीको कमी र जनशक्तिको अभाव रहेकाले त्यसमा समेत ध्यान दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!